काठमाडौँ । कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन थाले पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाउन निर्देशन दिएको छ । तर नगर प्रमुख सन्तोष चालिसेले विद्यालय सञ्चालनलाई निरन्तरता दिने बताए । ‘हामीले अभिभावक र शिक्षकसँग सल्लाह गरेर विद्यालय खोल्ने निर्णय गरेका हौं । जिल्ला प्रशासन कार्यालयले भन्दैमा बन्द गर्न सकिँदैन । कि विकल्प दिनुपर्यो,’ उनले भने, ‘विद्यार्थीलाई सधैं थुनेर राख्न सकिँदैन ।’ गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख रामप्रसाद आचार्यले संक्रमण दर अत्यन्तै न्यून रहेकाले विद्यालय सञ्चालन गर्ने नगरस्तरीय भएको जानकारी दिए । भौतिक दूरी कायम गर्ने/गराउनेलगायतका सुरक्षा मापदण्ड अपनाउने काम विद्यालयले नै गर्नुपर्ने नगरपालिकाको भनाइ छ । मापदण्ड पालना नगर्ने विद्यालयलाई कारबाही गर्ने नगरपालिकाले जनाएको छ । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन रोक लगाएका छन् । तर कतिपय स्थानीय तहमा विद्यालयले आफूखुसी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै आएका छन् ।
वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका कक्षा भौतिक उपस्थितिमा सञ्चालन गराउँदै आएकामा आगामी सातादेखि कक्षा १ देखि नै भौतिक रूपमा पठनपाठन गराउने भएको छ । ‘संक्रमणको जोखिम नदेखेपछि महानगरपालिकाले स्कुल खोल्ने निर्णय लिएको हो,’ मेयर विजयकुमार सराबगीले भने । शिक्षा मन्त्रालयले गत वर्ष नै जारी गरेको विद्यालय पुनः सञ्चालन कार्यढाँचाअनुसार कक्षा सञ्चालन गरिएको महानगरले जनाएको छ । गत वर्ष सोही ढाँचाअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका थिए । वीरगन्ज महानगरपालिकाले विद्यालय खोल्ने र बन्द गर्ने निर्णय लिएर जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिने गरेको छ । ‘विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पालिकाको हो, त्यहीअनुसार अवस्थाको विश्लेषण गरेर खोल्ने र निर्णय गर्ने गरेका छौं,’ मेयर सराबगीले भने । अनलाइन कक्षा प्रभावकारी हुन नसकेकाले स्वास्थ्य मापदण्ड ख्याल गरेर विद्यालय खोल्नुको विकल्प नभएको उनले बताए ।
तनहुँस्थित भानु नगरपालिकामा पनि मंगलबारदेखि विद्यालय खुलेका छन् । नगर शिक्षा समितिले विद्यार्थी संख्या धेरै भएका विद्यालयमा दुई सिफ्टसहित भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रशासकीय प्रमुख भीमप्रसाद तिवारीले जानकारी दिए । ‘लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा ठूलो क्षति पुगेको निष्कर्ष निकाल्यौं, अहिले संक्रमणको पनि खासै जोखिम देखिएको छैन,’ उनले भने ।
स्थानीय तहले धमाधम स्कुल सञ्चालनको निर्णय गर्न थालेपछि शिक्षा मन्त्रालयले पनि जोखिमको अवस्था हेरेर विद्यालय खोल्नुपर्ने निष्कर्षमा पुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि विद्यालय सञ्चालनका विषयमा कार्ययोजना माग गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनका अनुसार सरकारले गर्ने लकडाउनको चार प्रकृतिअनुसार पठनपाठनका गतिविधि अघि बढाउन सकिने गरी मन्त्रालयले कार्ययोजना तयार पारेर सीसीएमसीमा पेस गरेको छ । हार्ड (रातो), मिक्स्ड (गाढा पहेंलो), सफ्ट (हल्का पहेंलो) र मिनिमल (हरियो) कुन क्षेत्रमा कसरी शैक्षिक गतिविधि सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको हो ।
जसअनुसार रातो क्षेत्रमा प्रधानाध्यापकसहित केही शिक्षक आलोपालो विद्यालय आउने र विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउने प्रस्ताव गरिएको छ । गाढा पहेंलो क्षेत्रमा ५० प्रतिशत शिक्षक विद्यालयमा उपस्थिति भएर विद्यार्थीलाई समूहअनुसार सिकाइ सहजीकरण गर्ने तयारी छ । हल्का पहेंलो क्षेत्रमा शिक्षक विद्यालयमा उपस्थित भई विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने उल्लेख छ । विद्यार्थीलाई पनि स–साना समूह बनाएर मात्रै सिकाइ सहजीकरण गर्नुपर्ने योजना बनाइएको छ । हरियो क्षेत्रमा विद्यालय पुनः सञ्चालन कार्यढाँचाअनुसार भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्न सकिने कार्ययोजनामा उल्लेख छ । संक्रमणको जोखिम नरहेको वा कम रहेको स्थानमा आलोपालो सिफ्ट वा अन्य विधि प्रयोग गर्न सकिनेछ ।
प्रवक्ता शर्माले वैकल्पिक माध्यमलगायत आलोपालो कक्षा सञ्चालन गर्न मन्त्रालयले समेत विद्यालयहरूलाई प्रोत्साहन गर्ने गरेको बताए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने उनको भनाइ छ । मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्दा कार्यविधिको परिपालना गर्न आग्रहसमेत गरेको छ । कोभिडको दोस्रो लहर बढ्दै जाँदा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द गरिएका थिए । यो अवधिमा अनलाइन, टेलिफोन, घरदैलोलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल टेलिभिजन र रेडियो नेपालबाट १० कक्षासम्मको पाठ प्रसारण गरेको छ । केन्द्रले निजी टेलिभिजन च्यानलबाट पनि श्रव्यदृश्य पाठ प्रसारण गर्न आवेदन मागेको छ ।
सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन्।