काठमाडौं । पाठ्यक्रमका आधारमा सिकाउने कि पाठ्यपुस्तक भन्ने बहस चलिरहेको बेला महिला शिक्षक समाजले शिक्षकहरुका लागि पाठ्यक्रममा आधारित एकदिने शिक्षण सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ ।

गतवर्ष समाजले गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण तालिम सञ्चालन गरेको थियो । जहाँ विज्ञहरुद्वारा ४ दिनसम्म शिक्षकहरुलाई गणितलाई कसरी सरल तरिकाले सिकाउने, गणित सिकाइमा सूचना प्रविधिको प्रयोग कसरी गर्ने, गणित सिकाइलाई व्यवहारिक र मनोरञ्जनात्मक कसरी बनाउने भनेर सिकाइएको थियो ।

शनिवार सञ्चालन भएको एकदिने पाठ्यक्रम सम्बन्धी तालिममा देशभरका २२२ शिक्षकहरुको सहभागिता रहेको समाजकी अध्यक्ष एवं निलबाराही मावि कालिमाटीकी प्रअ जानुका नेपालले जानकारी दिइन् ।

अहिले कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागु भएको अवस्था र पाठ्यक्रमका आधारमा कसरी शिक्षण गर्ने भन्ने शिक्षकहरुको सीप विकासका लागि एकदिने अनलाइन तालिम सञ्चालन गरिएको अध्यक्ष नेपालले जानकारी दिइन् ।

‘एकीकृत पाठ्यक्रमका बारेमा शिक्षकहरु धेरै अन्योलमा रहेको पायौं’, नेपालले भनिन्,  ‘त्यसवारे विज्ञहरुद्वारा शिक्षकहरुलाई स्पष्ट पार्न तथा पाठ्यक्रमका आधारमा सिकाइ प्रक्रिया अगाडि बढाउन शिक्षकलाई सहज बनाउन तालीमको आयोजना गरिएको हो ।’

अनलाइन तालीममा काठमाडौं विश्वविद्यालयका अंग्रेजी विभाग प्रमुख प्रा. लक्ष्मण ज्ञवाली, शिक्षाविद बालचन्द्र लुइटेललगायतले पाठ्यक्रममा आधारित शिक्षण सिकाइ तथा  पाठ्यक्रम विकास केन्द्रका  पूर्व महानिर्देशक डा. लेखनाथ पौडेल, निर्देशक गणेशप्रसाद भट्टराई तथा केन्द्रका शाखाअधिकृत खिल नारायण श्रेष्ठले राष्ट्रिय पाठ्यक्रम प्रारुप र एकीकृत पाठ्यक्रमका सम्बन्धमा शिक्षकहरुलाई प्रशिक्षित गरेका थिए ।

पाठ्यक्रमका सन्दर्भमा शिक्षकहरुका मनमा रहेका भ्रम र जिज्ञासा हटाई शिक्षण सिकाइलाई पाठ्यक्रममा आधारित हुँदै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर समाजले एकदिने अनलाइन तालिम सञ्चालन गरिएको समाजकी उपाध्यक्ष एवं पद्यकन्या विद्याश्रम माविका प्रअ रिता तिवारी हुमागाईले जानकारी दिइन् ।

तालिममा धेरै शिक्षकहरुले एकीकृत पाठ्यक्रम, पाठ्यक्रममा आधारित सिकाइ तथा सिकाइ सामग्री निर्माणका बारेमा विज्ञहरु समक्ष जिज्ञासा राखेका भन्दै उपाध्यक्ष तिवारीले विज्ञहरुले शिक्षकहरुको जिज्ञासा मेटाइदिएका बताइन् ।

‘हामीले सोचेभन्दा धेरै जिज्ञासा रहेछ पाठ्यक्रमका बारेमा एकदिने तालीमले सबै मेटाउन सफल भयौं’– तिवारीले भनिन्, ‘अब शिक्षकहरुले तालिममा सिकेका कुरा विद्यालयका अन्य शिक्षकलाई पनि सिकाउनुहुन्छ ।’

एकीकृत पाठ्यक्रमको संरचना तथा महत्वको बारेमा तालिमले खुलस्त पारेको तालिममा सहभागी एक शिक्षकले बताइन् । ‘पहिले पाठ्यपुस्तक हेरेर सिकाइन्थ्यो अब पाठ्यक्रम हेरेर सिकाउँछु’, उनले भनिन् ।

महिला शिक्षक समाजले आयोजना गरेकोे पाठ्यक्रममा आधारित शिक्षण सिकाइ सम्बन्धी एकदिने अनलाइन तालिमको उद्घाटनमा नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, एकीकृत अखिल नेपाल शिक्षक संगठन बाग्मति प्रदेशका महासचिव भिम पोखरेल, नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष रविन महर्जन, सरस्वती निकेतन मावि टेकुकी प्रअ रविना महर्जन, विश्वनिकेतन माविका प्रअ हेरम्भराज कँडेललगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साथै, शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेल, काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालगायतको उपस्थिति रहेको थियो । साथै, तालिमका लागि सामाजिक अध्ययन तथा अनुसन्धान समाजका वरिष्ठ उपाध्यक्ष धु्रवराज थापाले प्राविधिक सहयोग गरेका थिए ।

२०७७ बैशाख २८ गते १७:०१मा प्रकाशित

प्रतिकृया दिनुहोस्