२०७६ असोज ३ गते

सिक्ने सिकाउनेका समस्याहरुको सन्दर्भ

जीतबहादुर शाह


एकपटक सेतै दारी भएका सन्त महाराजले आफ्ना शिष्य र शुभेच्छुकहरुको माझमा बसेर प्रवचन दिइरहेका थिए । वातावरण शान्त थियो । सन्तको मधुर वाणीबाहेक परिवेशमा कुनै आवाज थिएन । प्रवचनकै क्रममा केही समय ढल्किएपछि भने कतैबाट सुक्क–सुक्क गरेको आवाज सुनियो । त्यो आवाज प्रवचनमा तल्लिन सन्तको कानसम्म पनि पुग्यो । यो आवाज कहाँबाट आयो भनेर सन्तले आँखा घुमाएर हेरेको त उनकै प्रवचन सुनिरहेको एउटा शिष्य सुक्क–सुक्क गरेर रोइरहेको देखे । त्यो देखेर सन्त अनुमान गर्छन्– ‘विचरा यो शिष्यलाई मेरो प्रवचनको प्रभाव परेछ ।’ तैपनि उनले सोधेछन्– ‘तिमी किन रोयौ बालक ?’ रोइरहेको शिष्यले जवाफ दिएछन्– ‘तपाईँको सेतो दारी देखेर मेरो एक वर्ष अगाडि हराएको बोकाको सम्झना भयो । त्यसैले मन थाम्नै सकिन ।’ शिष्यको कुरा सुनेर सन्त छाँगाबाट खसे झैं भएछन् । आफ्नो प्रवचनको बारेमा घमण्ड गर्दै हिँड्ने सन्तको चुरीफुरीको पारो पनि शून्यमा पुगेछ ।


मलाई लाग्छ, चुरीफूरी सन्त महाराजको मात्र होइन, अरुलाई केही सिकाउने र शिक्षा दिने हरेक योगी, सन्त, गुरु, कथा वाचक, पण्डित, शिक्षक, प्रशिक्षक आदिको पनि तलतिरै झरिरहेको देखिन्छ । कारण स्पष्ट छ कि उनीहरुका शिष्य र सिकारुहरुले उनीहरुले अपेक्षा गरेअनुसार सिकाउन खोजेको शिक्षा सिकिरहेका हुँदैनन् । सिकाइको यो मात्रा शतप्रतिशत पाउन त फलामका चिउरा चपाउनु झैं गाह्रो छ । तथापि, सिकाइको मात्रा भने कतै बढी हुन्छ त कतै कम । जहाँ शिक्षा सिकारु र शिष्यहरुको भित्री मनमा हलचल पैदा गर्नेगरी प्रदान गरिन्छ अर्थात् जहाँ दिएको शिक्षाले उनीहरुको अन्तरमन पगाल्न सफल हुन्छ, त्यो शिक्षाले धेरै शिष्य र सिकारुहरुमा सिकाइ गर्न र आफूलाई तदनुरुप परिवर्तन हुन प्रेरित गर्दछ । अन्यथा, शिक्षा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं हुन्छ । सन्तले दिएको प्रवचनको भाव एकातिर, शिष्यको ध्यान सन्तको सेतै फूलेका दारी र आफ्नै हराएको सेतो बोकातिर भए झैं हुन्छ ।


सतहमा देख्दा लाग्छ हरेक विद्यालय र कलेजहरुले सिकारु अर्थात् विद्यार्थीहरुलाई गतिलो शिक्षा दिइरहेका छन् । सिकारुहरुको मन पगाल्नेगरी शिक्षा दिइरहेका छन् । यसैकारण पनि विद्यार्थीहरु एकाबिहानै ५ नबज्दै विद्यालय र कलेजको यात्रा आरम्भ गरिरहेका छन् । ट्यूसन र कोचिङ सेण्टरसम्म दौडधुप गरिरहेका छन् । मर्निङवाकको क्रममा बाटोभरी विद्यार्थीहरुको भीडभाड देख्दा कहिलेकाही लाग्छ यो पिंढीले देशको जिम्मेवारी काँधमा बोक्दा देशमा केही त अवश्य हुनेछ । तथापि नतिजा आउँदा भने केही हुने छाँट देखिँदैन । यो सबै असल हुन ९द्यभष्लन नययम० का लागि भन्दा असल देखाउन ९ीययपष्लन नययम० का लागि गरिएको तामझाम हो जस्तो लाग्छ । विद्यालय र कलेज अनि ट्यूसन सेन्टर र कोचिङ सेण्टरमा जब कक्षा शुरु हुन्छ, सिकारुको मन र आत्मा कक्षामा प्रस्तुत विषयवस्तुतिर होइन कि पशुपति शर्माले गाउने गरेको ‘सरले उता पढाउने, हामीले आँखा जुधाउने, चित्त बुझाउने’ लोकगीतको भाव जस्तै अन्यत्रै शयर गर्न थाल्छ ।


विद्यार्थी अर्थात् सिकारुको मन–मष्तिस्कलाई अन्यत्र बरालिनबाट कसरी नियन्त्रण गर्ने त ? सिकाइरहेको विषयवस्तुप्रति कसरी उनीहरुको ध्यान केन्द्रित गर्ने त ? यसका लागि शिक्षक वा शिक्षा दिने जो कोही व्यक्तिले पनि सिकारुको भित्री मन र आत्मासम्म छुनेगरी विषयवस्तु पस्कने कुरामा विशेष विचार गर्नु आवश्यक छ । उनीहरुको पारिवारिक, सामाजिक र साँस्कृतिक परिवेश कस्तो छ ? सोको ख्याल गर्नु आवश्यक छ । उनीहरुको रुचि, क्षमता र आवश्यकताको पनि उत्तिकै ध्यान दिनु पर्दछ । मानिसलाई अभिप्रेरित गर्ने सम्बन्धमा प्रतिपादित अब्राहम् मास्लोको आवश्यकता श्रृङ्खला सिद्धान्तअनुसार सिकारुको स्थिति कहाँ छ ? उसलाई कापी–कलम, पाठ्यपुस्तक, लुगा कपडा, खाना–खाजा आदि जस्ता आधारभूत समस्यामै पिरोलिनु परेको त छैन ? आदि कुराको पनि अध्ययन गरी यसरी उत्पन्न समस्याको समाधान गर्न प्रयत्न गर्नु पर्दछ । भिक्टर ब्रुमका अनुसार सिकारुको प्रयासलाई उसको कार्यसम्पादन अर्थात् उपलब्धिको स्तरसँग र उपलब्धिलाई पुरस्कारसँग आबद्ध गरेर अन्ततः यसलाई लक्ष्य प्राप्तिसँग जोड्नु पर्दछ ।


शिक्षा दिनेहरुले सिकारु अर्थात् शिक्षा लिनेहरुलाई समूहमा सिकाउने प्रचलन छ । तथापि सिकाइ व्यक्तिगत हुने गर्दछ । अर्थात् एउटै समूहमा एकैै तरिकाले सहजीकरण गरेको कुरा त्यही समूहका फरक–फरक सिकारुहरुले भिन्न–भिन्न किसिमले सिक्ने गर्दछन् । यस्तो अवस्थामा सिकाउनेहरुले सिक्नेहरुलाई उनीहरुको व्यक्तिगत भिन्नतालाई समेत सम्बोधन हुनेगरी सिकाउन सक्यो भने सिकाइ प्रभावकारी हुन्छ भन्ने कुरा सिकाइसम्बन्धीका विभिन्न सिद्धान्तहरुले सिद्ध गरेको अवस्था छ । एउटा सानो परिवारमा समेत भान्सामा कुनै खाना पाक्यो भने एउटा खुशी हुने र अर्को बेखुशी हुने स्थिति हुन्छ भने सिकाइ र सहजीकरणको विशेष अवस्थामा पनि कसैलाई रुचि र कसैलाई अरुचि हुनु अस्वाभाविक होइन । यस्तो अवस्थामा सिकाउनेहरुले सहजीकरणका हरेक चरणमा सिकारुहरुको अवस्था के छ ? उनीहरु सिकाइमा सहभागी छन् कि छैनन् ? सिकाइमा उनीहरुको रुचिको अवस्था के छ ? उनीहरुको पृष्ठभूमि अर्थात् प्रवेश व्यवहार वर्तमान सिकाइका निम्ति उपयुक्त छ कि छैन ? आदिबारे समेत सिकाउनेहरु चनाखो हुनुपर्ने आवश्यक छ ।


सिकारुहरुको विषयवस्तुप्रति नभएर अन्यत्र कतै ध्यान केन्द्रित भएको छ कि भन्ने कुरामा समेत सिकाउनेहरु स्वयम्ले पाइलैपिच्छे गम्भीर हुनु आवश्यक छ । कतिपय अवस्थामा त शिक्षक अर्थात् सिकाउनेहरुले पहिरिएको सर्ट, पाइन्ट, सारी, ब्लाउज, जुत्ता, चप्पल, गहना आदिको स्टाइल र रङले समेत सिकारुको ध्यान सिकाइको विषयवस्तुभन्दा अन्यत्र तान्न सहयोग गरिरहेको हुन्छ । यसका साथै सिकाउनेहरुको बोल्ने शैली, जिउडाल, कपालको अवस्था, हावभाव आदिले समेत सिकारुको सिकाइमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । यस सम्बन्धमा मनोपरामर्शदाता डा. सुशील कँडेलको भनाइ छ, ‘शिक्षक अर्थात् सिकाउनेहरु कक्षामा जाँदा सामान्य पहिरनमा जानु पर्दछ । असामान्य पहिरन र स्टाइलमा गयो भने सिकारुको दृष्टि त्यही असामान्य पहिरन वा स्टाइलमा गएर अडिन्छ र सिकाइ अवधिभरि उसको ध्यान त्यतै हुन्छ । शिष्यको ध्यान सन्तको सेतो दारीतिर भएजस्तै ।’ यसका साथै डा. कडेल अगाडि भन्छन्, ‘कपाल फरक स्टाइलमा बनाउनेहरु, जुत्ता फरक स्टाइलमा लगाउनेहरु र कपडाले छोप्नुपर्ने शरीरका अङ्गहरु नछोपेर देखाउनेहरुलाई कक्षाकोठामा प्रवेश गर्न सख्त निषेध गरिनुपर्दछ ।’


सिकाइलाई गहिराइमा पु¥याएर यसको मर्मलाई आत्मसात गर्दै व्यवहारमा बदल्ने हो भने सिकाइको विषयवस्तु र सन्दर्भले सिकारुको अन्तरमनमा बास बस्न सक्नुपर्दछ र उसको आत्मालाई हल्लाउन सक्नुपर्दछ । जसरी एउटा रुख ठूलो हुनका लागि सानो बीजले काम गरेको हुन्छ, जसरी एउटा पदार्थलाई पदार्थको रुपमा अस्तित्वमा आउनका लागि त्यसको सूक्ष्मातिसूक्ष्म परमाणु ९ब्तयm० ले काम गरेको हुन्छ, त्यसरी नै एउटा व्यक्तिले के सिक्ने र कस्तो हुने भनेर निश्चित गर्नका लागि उसको आत्माले काम गरिरहेको हुन्छ । यस सम्बन्धमा त्रिभुजीय शिक्षाका सर्जक आचार्यश्री पथिकले भनेका छन् – ‘पदार्थको अन्तस्तहमा जसरी ब्तयm हुन्छ, ठीक त्यसैगरी चेतनाको अन्तस्तहमा आत्मा हुन्छ । ब्तयm भन्ने शब्द आत्माबाट नै आएको हो । अर्थात् आत्म शब्दलाई अंग्रेजी रुप दिँदा ब्तयm भएको हो ।’


उल्लिखित दृष्टान्तहरुबाट के प्रष्ट हुन्छ भने चेतना, विद्या अर्थात् शिक्षालाई सशक्त र प्रभावकारी बनाउने हो भने शैक्षणिक प्रक्रियाले सिकारुको आत्म अर्थात् अन्तस्तहमा जागरण र हलचल पैदा गर्न सक्नु पर्दछ । म्याक्सिम गोर्कीको शब्दमा भन्ने हो भने सिकाइ प्रक्रियाले सिकारुको मष्तिष्कमा दुम्सीको प्वाखले झैं घोच्न सक्नुपर्दछ । अब्दुल कलामको शब्दमा भन्ने हो भने सिकाइ प्रक्रियाले सिकारुलाई सुतेर देख्न सपनाका लागि होइन कि सुत्नै नदिने सपना देख्नका लागि प्रयत्न गर्नु पर्दछ । हामी पनि कोशिस गरौं सिकाइ प्रक्रियाको यो बाटो हिँड्नका लागि । कति मानिसहरु कोही नहिँडेको बाटो त हिँड्न सफल भइरहेका छन् भने अरु हिँडेको र अरुले देखाएको शैक्षिक प्रक्रियाको यो बाटो हिँड्न हामी किन नसक्ने ? यसका लागि अलिकति इच्छा र प्रतिबद्धता भने अवश्य चाहिन्छ । सबैलाई चेतना भया !      

                                                                                                                                        शाह सुर्खेतका जिशिअ हुन् ।

साभार आजको शिक्षा साप्ताहिक

Comments: