हुम्ला । हुम्लामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ ।

सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्तादेखि सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णय अनुसार विद्यालय बन्द भएको बताए । कोभिड–१९ को सक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द भएका हुन् ।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा पाँच दिनको अन्तरालमा ५६ विद्यार्थीमा कोरोना सक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएको हो । सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ र गाउँपालिकाले गर्नु पर्नेछ । नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ठुलो संख्यामा कोरोना सक्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जिल्लाभर पठन पाठन बन्द गर्ने निर्णयमा पुगेको हो । १४४ वटा सामुदायीक र छ वटा संस्थागत गरि १५० वटा विद्यालयमा पठन पाठन बन्द भएको छ ।

नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो । कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ । यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शैय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ । प्रत्येक गाउँपालिकामा पाँच शैय्या क्षमताको आइसोलेशन र १५ शैय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको बताउनुभयो । जिल्लाका सातवटै स्थानीय तहमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको खण्डमा अन्त्येष्टिको व्यवस्था सम्बन्धित पालिकालाई गर्ने जिम्मेवारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना सङ्क्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना सक्रमण रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्