हुम्ला ठेहे गाउँको रामदेव माविले मनायो ५९ औँ वार्षिकोत्सव

Avatar photo

Byएजुकेशन पाटी

२७ भाद्र २०८१, बिहीबार

सिमकोट । सिमकोट गाउँपालिका– १ र २ को रामदेव माध्यमिक विद्यालय ५९ औँ वर्षमा प्रवेश गरेको छ । विद्यालयले बुधबार एक भव्य समारोहकाबिच आफ्नो ५९ औँ वार्षिकोत्सव मनाएको हो ।

माथिल्लो हुम्लामा घना वस्ती रहेको ठेहे गाउँमा अवस्थित विद्यालय २०२२ सालमा स्थापना भएको थियो । प्रावि, निमावि हुँदै हाल माध्यमिक तहसम्मको अध्ययन अध्यापन हुने गरेको सो विद्यालय अहिले जिल्लाकै राम्रो सामुदायिक विद्यालय बन्ने बाटोमा अग्रसर देखिन्छ ।

विद्यालयले पछिल्लो समय सिकाइ सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न रचनात्मक र सिर्जनशील प्रयासहरु गर्दै आएको विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले बताए । सुधारको सुरुवात तल्लो कक्षाबाट गर्नुपर्छ भनेर विद्यालयले शिक्षण सिकाइलाई विद्यार्थीमैत्री र प्रिविधिमैत्री बनाउँदै लगेको उनको भनाइ छ ।

कार्यक्रमको उद्घाटन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले विद्यालयको पहिलो काम शैक्षिक क्षेत्रलाई सुधार गरेर राम्रो पठनपाठनको वातावरण तयारी गर्नु पर्ने बताए । यसको विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय ब्यवस्थापन समितिले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो । आफु पनि सोही विद्यालयको उत्पादन भएको बताउदै उनले गुणात्मक शिक्षाको खाँचो रहेको बताए ।

त्यसैगरी कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले विद्यालय शिक्षाको मन्दिर भएको र यसबाट प्रत्येक वर्ष नयाँ जनशक्ति उत्पादन हुने भएकोले ती जनशक्ति गुणात्मक हुन आवश्यक रहेको बताए । उनले आफु दक्षिणी क्षेत्रको भएपनि विद्यालयको बार्षिक उत्सवका सहभागी हुन पाउदा खुसी लागेको र आफ्नो तर्फबाट यसै वर्ष विद्यालय सुधारका लागि केही सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका काँग्रेस उपसभापति कैलाश भण्डारीले सवै पक्ष मिलेर विद्यालयको शैक्षिक अवस्था सुधार गर्न आवश्यक रहेको बताए । पछिल्ला वर्षहरुमा रामदेव माविको शैक्षिक अवस्था खस्कदो रहेकोमा अब त्यसलाई सुधार गर्नु पर्ने उनले बताए ।

मओवादी सचिव धर्मराज बोहराले हालसम्म धेरै राम्रा राम्रा जनशक्ति विद्यालयबाट उत्पादन भर्ई रहेको र अव पनि गुणत्मक जनशक्ति उत्पादन हुने शिक्षा विद्यालयमा दिन आवश्यक रहेको उनले बताए ।

उक्त वडाका वडा अध्यक्ष देवजन बोहराले आफु विद्यालयमा शिक्षा सुधारका लागि जहिल्यै पनि लाग्ने बताए । पत्रकार महासंघका अध्यक्ष राजन रावतले विद्यालयको शैक्षिक अवस्था खस्कँदो रहेकोमा चिन्ता व्यक्त गरेर विद्यालयका प्रधानाध्यापक पौडेलले समग्र विद्यालयको अवस्थाका वारेका प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा आ.व. ०८०।०८१ मा विद्यालयको आयमा एक करोड २४ लाख ३१ ह्जार ४९ रुपियाँको आम्दानी र एक करोड १० लाख ३९ हजार ८७५ रुपियाँको खर्च भएको र बैंैंक मौज्दात १५ लाख ६७ हजार ४९ रुपियाँ रहेको जनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयमान बोहराको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । विद्यार्थीहरुले नृत्यहरु र देउडा गाउने कार्य समेत गरेका थिए ।

कक्षामा गतवर्ष प्रथम, द्वितीया, तृतीया हुने, विद्यालयले सञ्चालन गरेका खेलकुद गतिविधिहरुमा विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । रलिङ माविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर भण्डारी, सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत लगायतले विद्यालयलाई अझ राम्रो गर्न शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्