जीवना चौंलागाईं नौ कक्षा भर्ना भएको आठ महिना भयो । कालीकोटको खाडाचक्र–३ ताडीस्थित जनजीवन माविमा उनी भर्ना भए पनि लामो समय विद्यालय खुलेन । मध्य भदौमा विद्यालय खुले पनि पढाइ नियमित भएन । दसैं–तिहार सकेर कात्तिक २५ देखि विद्यालय खुले पनि पढाइ नियमित नहुँदा उनलाई कोर्स नसकिने चिन्ता छ । पढ्नकै लागि शुभकालिकाबाट खाडाचक्र आएकी उनले भनिन् ‘हिउँद लागिसक्यो, अहिलेसम्म अंग्रेजीको तेस्रो पाठसम्म मात्र पढाइ भएको छ ।’

विद्यालयमा नियमित पढाइ नहुँदा केही विद्यार्थी सदरमुकाम मान्ममा अंग्रेजी र गणित विषयको ट्युसन कक्षा पढिरहेका छन् । निजी स्रोतबाट सञ्चालित भएकाले शिक्षक अभावमा पढाइ नियमित गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए । उनले भने, ‘माविमा एउटा पनि सरकारी दरबन्दी छैन । जेनतेन विद्यालय चलिरहेको छ ।’ निमाविसम्मका शिक्षकले माध्यमिकको पनि कक्षा लिइरहेको जानकारी दिए ।

कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, मुगु र कालीकोटमा हिमपात सुरु भइसकेको छ । यसले गर्दा कक्षा चलाउन समस्या हुँदा हिमाली बस्तीका सामुदायिक विद्यालयमा कोर्स सक्न मुस्किल भएको छ । कालीकोटको तिलागुफा–९ चिल्खायास्थित शिवालय माविमा पनि अर्धवार्षिक परीक्षाको समय तोकिए पनि कोर्स भने एक तिहाइ सकिएको छैन । पुस १० बाट विद्यालयले अर्धवार्षिक परीक्षा चलाउने योजना बनाए पनि अहिलेसम्म कक्षा १० मा अंग्रेजी र विज्ञानका ४ तथा गणितका ३ वटा मात्र पाठ सकिएको छ । कोर्स सक्नकै लागि अधिकांश विद्यार्थीलाई अभिभावकले ट्युसन पढाउन मान्म र सुर्खेत पठाएको अभिभावक वसन्ती शाहीले बताइन् ।

बजेडीचौरको मालिका माविको कक्षा १० मा २३ विद्यार्थी छन् । तर कक्षामा कोही पनि आउँदैनन् । ‘चिसो बढ्यो, सबै विद्यार्थी तिहार सकेर सुर्खेततिर ट्युसन पढ्न गए,’ शिक्षक प्रजापति चौंलागाईंले भने । विद्यालयमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पढाइ नहुने भन्दै विद्यार्थीहरू ट्युसन पढ्न गएका उनले बताए । कतिपय विद्यार्थी अभिभावकसँग व्यापार गर्न पनि जाने गरेका छन् । ‘विद्यालयमा अप्ठ्यारो विषयको पढाइ नै हुँदैन,’ कक्षा १० का छात्र नमराज बुढाका अभिभावक नरेश बुढाले भने, ‘त्यसैले कर्जा गरेरै भए पनि ट्युसन पढ्न जिल्लाबाहिर पठाउनुपर्छ ।’

अभिभावकको सहयोगबाट माध्यमिक तह सञ्चालनमा ल्याइए पनि उक्त तहका लागि एक जना पनि दरबन्दीका शिक्षक छैनन् । ‘अभिभावकबाट पैसा उठाएर शिक्षक पाल्नै ठिक्क छ,’ वडाध्यक्ष दलबहादुर कटुवालले भने, ‘छात्रवृत्ति, दिवा खाजालगायतको पैसा पनि निजी स्रोतका शिक्षकलाई दिनुपरेको छ ।’

कोरोना महामारीका कारण बन्द मुगुका विद्यालयहरू भदौ १८ देखि खुलेका हुन् । त्यसयता झन्डै एक महिना दसैं–तिहार बिदा भयो । कोर्ष पूरा गर्न समस्या भयो । यो वर्ष डेढ महिना पनि पढाइ नभएको मुगुमकार्मारोङ गाउँपालिकास्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयका प्रधानाध्यापक कुशल शाहीले बताए । ‘कोर्स पूरा गर्न बिहान र दिउँसो डबल क्लास लिइरहेका छौं,’ उनले भने, ‘कठ्यांग्रिँदो जाडोमा विद्यार्थीहरू काम्दै पढ्न बाध्य छन् ।’ मुगुमकार्मारोङका १७ विद्यालयमा अहिले पढाइ चालु छ । मुटु काप्ने चिसोले विद्यार्थीलाई पढाउन समस्या भएको मह प्राथमिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले बताए ।

अहिले मुगु, चितै, डोल्फु, कार्ती, किम्रीलगायत बस्तीका स्थानीयवासी जाडो छल्न गाउँ छाडेर जिल्ला बाहिर गएका छन् । अभिभावकसँगै बालबालिका पनि औंलका बस्तीहरूमा झरेपछि विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून छ । ‘कोरोना महामारीअघि वैशाखबाट शैक्षिक सत्र सुरु हुन्थ्यो,’ खत्याड गाउँपालिकास्थित सर्वोदय माविका प्रधानाध्यापक लोकेन्द्र कार्कीले भने, ‘त्यसबेला त कोर्स सकिन हम्मे हुन्थ्यो, अहिले झन् कसरी सकिएला ?’ उनका अनुसार चिसो बढेपछि सामुदायिक विद्यालयले चौरमा कक्षा सञ्चालन गर्न थालेका छन् ।

चिसो कक्षाकोठामा पढाउँदा विद्यार्थीमा रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत समस्या देखिन थालेपछि घाम लाग्ने चौरमा पढाउनुपर्ने बताए । छायानाथरारा नगरपालिकाको बाम, सोभा, कोल्ली, टोप्ला, ताल्चा, मुर्मालगायत गाउँमा स्याँठ चल्ने भएपछि कक्षा सञ्चालनमा समस्या छ । घाम लागेको दिन चौरमा र पानी परेको दिन कक्षाकोठामा आगो बालेर पढाउने गरेको बुद्ध माविका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए ।

जाडो बिदा कटौती

मुगुमकार्मारोङ गाउँपालिकाले यो वर्ष जाडो बिदा नदिने निर्णय गरेको छ । गाउँपालिकामा हिमपात र अत्यधिक जाडोले गर्दा विद्यालयमा पठनपाठन गराउन मुस्किल हुन्छ । अहिले हिमपात नभएकाले पठनपाठन सञ्चालन भइरहेको हो । विगत वर्षहरूमा पुस १५ देखि माघ १५ सम्म जाडो बिदा गर्ने गरिएको थियो ।

शिक्षकहरूलाई शनिबारको दिन पनि पठनपाठन गर्न निर्देशन दिइएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘कोर्स सकिन समस्या भएपछि अरू सार्वजनिक बिदामा पनि कक्षा सञ्चालन गर्न भनिएको छ,’ उनले भने, ‘हिमपात भएको अवस्थामा आगो बालेर भए पनि पठनपाठन गर्न विद्यालयहरूले दाउरा संकलन गरिसकेका छन् ।’

बेंसीतिर घुम्ती कक्षा

मुगुमकार्मारोङ गाउँपालिकास्थित मुगु र चितैगाउँका विद्यालयले भने घुम्ती कक्षा सुरु गरेका छन् । मुगु र चितैका बासिन्दा जाडो कटाउन सिरानचौर र चितैकुना झरेपछि शिक्षकहरू पनि कक्षा सञ्चालन गर्न बेंसी झरेका हुन् ।

गत वर्षहरूमा भने जाडोका कारण स्थानीय बासिन्दा झरेपछि विद्यालयको पठनपाठन बन्द हुने गरेको थियो । ‘यो वर्ष राम्ररी पढाइ नै भएन,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘अहिले जता बालबालिका उत्तै स्कुल सञ्चालन गर्नुपर्ने अवस्था आयो ।’ हुम्लामा पनि नाम्खा गाउँपालिकाका अधिकांश बस्ती चिसोका कारण रित्तिएपछि बालबालिकालाई पढाउन समस्या भएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्