कालिकोटमा ३२ वर्ष शिक्षण सेवा

Avatar photo

Byएजुकेशन पाटी

२ पुष २०७८, शुक्रबार

कालीकोट । स्याङ्जाको पिडिखोलाका रामप्रसाद भुसालले २०४६ मा नरहरिनाथ गाउँपालिकास्थित जनजीवन प्राविबाट शिक्षकको रुपमा जागिर जीवन सुरु गरे । प्राथमिक, निम्न माध्यमिक हुँदै माध्यमिक विद्यालयको शिक्षक बनेका उनले केही केही समय स्रोतव्यक्तिको रुपमा कामसमेत गरे । दुर्गमको शैक्षिक अवस्था सुधार्न जीवनको ऊर्जाशील उमेर खर्चेका भुसाल गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको प्रमुखबाट ३२ वर्षपछि बिदाइ भएका छन् ।

भुसाल कालीकोट आउँदा २१ वर्षका थिए । २०७४ मा थिर्पू स्रोत केन्द्रबाट गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख भएर आएपछि उनकै नेतृत्वमा गाउँपालिकाले शिक्षा नीति निर्माण गर्‍यो भने ०७५ सालमा गाउँपालिकालाई अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा गरियो । उनको लगाव, मेहनत, कडा परिश्रम र बौद्धिक क्षमताले गाउँपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट बनेको गाउँपालिका अध्यक्ष धीरवहादुर विष्टले बताए । ‘दुई वर्षअघि गाउँपालिका शिक्षा सुधार गर्ने देशकै उत्कृष्ट छैटौं पालिका बन्न सफल भयो,’ उनले भने, ‘उहाँ गएपछि त्यही उत्कृष्टता कायम गर्न चुनौती छ ।’

कालीकोटको भूमि आफ्ना लागि सधै प्रेरणाको स्रोत रहने भुसालले बताए । उनलाई गाउँपालिकासहित एक दर्जन निकायले बिदाइ गरेका छन् । ‘जन्मभूमि स्याङ्जा भए पनि कर्मभूमि कालीकोटप्रति सधैं ऋणी छु,’ उनले भने, ‘नियमाअनुसार अझै ६ वर्ष जागिर गर्ने अवधि बाँकी रहे पनि स्वास्थ्य समस्याले बिदाइ भएको हुँ ।’ उनी मावि तहको द्वितीय श्रेणीका शिक्षक हुन् ।

शिक्षक, विद्यार्थी र अभिभावकले रुचाएका भुसाल कालीकोट जिल्लामै अंग्रेजी विषयको चर्चित शिक्षक रहेको जनप्रभात मावि लालुका प्रधानाध्यापक निर्मलकुमार विष्टले बताए । उनका अनुसार भुसालकै पहलमा दरबन्दी मिलान, शून्य दरबन्दी भएका विद्यालयमा पालिकाबाट शिक्षक अनुदान, विद्यालय गाभ्नेलगायत नमुना काम भएको बताए । थिर्पूस्थित सरस्वती माविमा आफूलाई अंग्रेजी पढाएको सम्झिँदै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेले भुसालबाट मिहिनेत र इमानदारिता सिकेको जनाए ।

भुसालले पढाएका विद्यार्थी विभिन्न तहको नेतृत्वमा पुगेका छन् । सशस्त्र प्रहरीका एसएसपी अशोक बम, सहप्राध्यापक डा. सर्पराज रोकाया, अधिवक्ता जगदीश बम, विश्व खाद्यमा कार्यरत युवराज बम, नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेलगायत व्यक्तिहरू उनकै पूर्वविद्यार्थी हुन् । स्याङ्जाको पिँडीखोलामा जन्मिएर चितवन भरतपुर बसाइ सरेका भुसालले जिल्लाको सबैभन्दा विकट पतालाको थिर्पू, नरहरिनाथको रुप्सा, तिलागुफाको जुविथालगायतका माविमा अंग्रेजी विषयको शिक्षकका रूपमा सेवा गरे ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्