कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ गतेदेखि हुने

अन्ततः पछि हट्यो परीक्षा बोर्ड

Avatar photo

Byएजुकेशन पाटी

९ बैशाख २०८२, मंगलवार

काठमाडौँ। वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।

सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ।यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो।

तर बोर्डको निर्णय शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। त्यस्तै ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो ।त्यसपछि परीक्षा सार्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका थिए। भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष शर्माले बताए ।

वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण सार्नु परेको हो । बोर्ड आजै बिहान बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको थियो । त्यसका लागि देशभरका सबै संयन्त्र प्रयोग गरेर परीक्षा गर्ने भन्ने थियो ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायतका अधिकारीले छलफल गरेका थिए । छलफलपछि परीक्षा १० दिन पछि सार्न बाध्य भएको हो । बोर्डको कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जिल्लास्थित इकाईहरू, स्थानीय तह, शिक्षक कर्मचारी लगायत परिचालन गरेर परीक्षा गरिने बताएका थिए । कुनै पनि हालतमा वैशाख ११ गतेदेखि नै गर्ने उनको अडान थियो ।

बोर्डका अध्यक्ष शर्माले समेत परीक्षामा सहभागी भएर सम्पन्न सहयोग गर्न सबैमा अनुरोध गरेका थिए । बिहान बैठक बसेर तोकिएकै मिति (वैशाख ११ गतेदेखि) गर्ने र त्यसका लागि सहयोग गर्न अनुरोध गरेको बोर्ड केही घण्टामै परीक्षाको मिति सार्न पुगेको हो । शिक्षकहरूले त परीक्षा गरेको खण्डमा प्रतिवाद गर्ने चेतावनी नै दिए ।  नेपाल शिक्षक महासङ्घले समेत विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई परीक्षामा सामेल नहुन भनेको थियो ।

त्यस्तै नेपाल विद्यालय कर्मचारी परिषद्ले त झन् विद्यालय कर्मचारीहरूलाई विद्यालयको चाबी लिएर २४ घण्टाभित्रमा काठमाडौँको आन्दोलनमा आउन निर्देशनात्मक अनुरोध गरेको थियो ।

त्यस्तै निजामती कर्मचारीहरूलाई परिचालन गरेर परीक्षा गराउने भनेपछि कर्मचारी ट्रेड युनियनले समेत विरोध जनाउँदै परीक्षामा सहभागी नहुने प्रस्ट पारेका थिए । चौतर्फी घेराबन्दीमा परेपछि बोर्ड परीक्षा सार्न बाध्य भएको हो ।

प्रतिकृया दिनुहोस्