काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी पुस ६ गते आयोजना गरेको ४६औं दीक्षान्त समारोहमा यस वर्ष ८३ जनाले मात्रै सहभागिता जनाउने भएका छन्। कोभिड–१९ को उच्च जोखिमका कारण ८३ जनालाई मात्रै सहभागी गराउने निश्चित भएको हो। परीक्षा नियन्त्रण कार्यालयकाअनुसार एमफिल, विद्यावारिधि र गोल्डमेडलिस्ट उपाधि हासिल गरेका जम्मा ३ सय ३८ विद्यार्थीको दीक्षान्त गराउने तयारी गरेपनि सबैले फारमै भरेनन्।

गत असार १५ गते बसेको त्रिविको ६१औं सभाले पास गरेको सबै संकायअनुसार २०७६ असार १ गतेदेखि जेठ मसान्तसम्म परीक्षामा उतिर्ण भएर ट्रासक्रिप्ट प्राप्त गरेका कुल ५६ हजार ७ सय १३ विद्यार्थीहरू दीक्षीत हुने योग्य उमेदवार हुन्। जसमध्ये ७ हजार ८७ ले मात्रै दीक्षान्त समारोहको लागि सहभागिता फारम भरेका थिए।

७ हजारलाई एकै पटक उपस्थित गराउन नमिल्ने भएकाले गोल्डमेडलिस्ट र एमफिल तथा विद्यावारिधि उपाधि प्राप्त गरेकालाई मात्रै उपस्थित गराई दीक्षीत गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। यस पटक सरकारले पनि बढीमा दुई सय जनासम्म मात्रै उपस्थिति गराएर कार्यक्रम गर्नसक्ने निर्देशन दिएकाले सबैलाई सहमागी गराउन नसकेको उनले बताए।

उपत्यकामा कोरोना भाइरसको जोखिमका कारण बढी भिड्भाड गर्न नदिने उद्धेश्यले त्रिवि कार्यकारी परिषदलेनै यस वर्ष एमफिल, विद्यावारिधि र गोल्ड मेडल प्राप्तलाई मात्रै उपपिस्थत गराएर उपाधिको प्रमाणपत्र दिने तयारी गरेको परिक्षा नियन्त्रक जोशीले बताए।

एमफिल र विद्यावारिधि उपाधि हासिल गरेका कुल ३ सय १७ जना छन् भने पदक प्राप्त गर्नेको संख्या २१ रहेको उनले जनाए। यस वर्ष अभिभावलाई समेत कार्यक्रममा सहभागी नगराइएको आयोजकले जनाएको छ। अन्य योग्य उमेदवारले पुस ७ गतेदेखि बल्खु परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र लिन सक्ने व्यवस्था गरिएको छ।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्