इलाम । जिल्लाका १ सय १५ विद्यालयलक निर्माणमा खर्च गरेको साढे ४ करोड रूपैयाँभन्दा बढी बेरुजु फस्र्योट हुन सकेको छैन। भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापनलगायतमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत् खर्च भएको रकम झन्डै दशकदेखि फस्र्योट हुन बाँकी रहेको देखिएको छ।

शिक्षा विकास तथा समन्वय इकाईले एउटै विद्यालयबाट २० लाख रूपैयाँसम्म बेरुजु बाँकी रहेको जनाएको छ। लामो समय बेरुजु फस्र्योट नभएपछि इकाई कार्यालयले विद्यालयको नाम र बेरुजु रकमको सूचीसमेत सार्वजनिक गरेको छ। केही महिनाअघिसम्म कार्यालयले विद्यालयमा भएका भौतिक निर्माणको झन्डै ९ करोड रूपैयाँ बेरुजु फस्र्योट गर्न बाँकी थियो।

तर साढे ४ करोड हाराहारी रकमको हिसाब–किताब र कागजात महालेखापरीक्षण कार्यालयमा पुगेको इकाई प्रमुख शम्भु थापामगरले बताए। ‘९ करोड हाराहारी बेरुजु रहेकोमा आधा फस्र्योटको प्रक्रियामा गएको छ,’ उनले भने, ‘बाँकी बेरुजु फस्र्योट गर्न निकै मेहनत गर्नुपर्ने देखिएको छ।’

जिल्लामै सबैभन्दा बढी रकम बेरुजु भएको विद्यालय देउमाई नगरपालिकास्थित भानुभक्त मावि हो। यो विद्यालयले भौतिक निर्माणको २० लाख रूपैयाँ फस्र्योट गर्न बाँकी छ। चुलाचुलीस्थित भानु मावि, चिसोपानी मावि, माइजोगमाईस्थित ज्ञानोदय मावि र माङ्सेबुङस्थित जीवनज्योति माविको १८/१८ लाख रूपैयाँ बेरुजु छ।

देउमाई नगरपालिकास्थित जनता आधारभुत विद्यालय, माइजोगमाईको नामसालिङ मावि र फाकफोकथुमस्थित विजय आविले १६/१६ लाख रूपैयाँ फस्र्योट गर्न बाँकी रहेको इकाई कार्यालयले जनाएको छ। माङ्सेबुङस्थित चिसोपानी मावि र सन्दकपुरको स्याम्बल माविले १४/१४ लाख, फाकफोकथुमस्थित कालीकादेवी आवि र रोङको मोतीराम माविले साढे १३ लाख रूपैयाँका दरले बेरुजु फस्र्योट गर्नु बाँकी देखिएको छ।

विद्यालयले आर्थिक वर्ष २०६९/७० देखि २०७४/७५ सम्म खर्च गरेको ४० हजारदेखि २० लाख रूपैयाँसम्मको बेरुजु रकम फस्र्योट हुन नसकेको हो। स्थानीय तह निर्माण भएसँगै शिक्षाको प्राविधिक दरबन्दी हटाइएपछि सम्पन्न भइसकेका र निर्माण अधुरो रहेका संरचनाको समेत प्राविधिक प्रतिवेदन आउन नसक्दा बेरुजु बढी भएको थापामगरले बताए।

‘प्राविधिक नै नभएपछि भौतिक निर्माणको रकम फस्र्योट भएन तर फस्र्योटका लागि सहयोग गर्न स्थानीय तहसँग पनि आग्रह गरेका छौं,’ उनले भने, ‘कार्यालयमा प्राविधिकका लागि ज्याँदै कम रकममात्र आउनेगरेकाले स्रोत–साधन व्यवस्थापन हुन नसक्दा प्राविधिक मूल्यांकन गर्न समस्या छ।’

भीम चापागाईंले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्