प्यूठान  । गौमुखी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको छ । गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ५ मा सोमबारदेखि लागू हुने गरी ‘हाम्रो गौमुखी’ पाठ्यक्रम ल्याइएको हो ।

‘केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन सक्दैन,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले भने, ‘स्थानीय विषयवस्तुको मूल्यबोधका लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याएका हौं ।’

कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागू गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘यस वर्ष कक्षा ५ बाट सुरु गरेका छौं,’ उनले भने, ‘आगामी वर्षदेखि क्रमशः अन्य कक्षामा कार्यान्वयनमा ल्याउँछौं ।’

पाठ्यक्रममा स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सीप, प्रविधि, रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधार र विपद् व्यवस्थापन तथा सुरक्षा गरी १० वटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक टुकबहादुर केसीले बताए ।

पाठ्यक्रममा साप्ताहिक पाठ्य घण्टा ४ र वार्षिक पाठ्य घण्टा १ सय २८ कायम गरिएको छ । उनका अनुसार १ सय पाठ्य घण्टा कक्षा क्रियाकलाप र २८ पाठ्य घण्टा प्रत्यक्ष अवलोकन तथा फिल्ड भ्रमणमा लगाइने भनिएको छ ।

५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक मूल्यांकनबाट गर्न सकिने व्यवस्था पाठ्यक्रममा उल्लेख गरिएको संयोजक केसीले बताए । निरन्तर मूल्यांकन गर्नुपर्ने प्रावधान पाठ्यक्रममा राखिएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्