गकाठमाडौं । भूकम्पले विद्यालय भवन भत्काएपछि लामो समय अस्थायी टहरामा पठन–पाठन गर्न बाध्य तारकेश्वर नपा–२ स्थित काभ्रेस्थली माविले अन्ततः नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार विद्यालयलाई नवनिर्मित पक्की भवन हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस(कोभिड–१९)को महामारीका बिचपनि विद्यालय पुनर्निमाणलाई जारी राखेको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले विद्यालयलाई एसियाली विकास बैंकको झण्डै ५ करोड सहयोगमा बनेको ३ तले आधुनिक भवन हस्तान्तरण गरेको हो । इकाईले निर्माण गरेको भवनमा अत्याधुनिक विज्ञान/कम्युटर ल्याव, खानेपानी, शौचालयलगायतका सुविधा रहेका छन् । यस्तै भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधीसमेत रहेको छ ।

सामाजिक दुरी कायम राख्दै बुधवार आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुनबहादुर रायमाझीले विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमूख अतिथि एवं पूर्व रक्षामन्त्री प्रधानले नयाँ भवन पाएपछि विद्यालयको काचुलीनै फेरिएको बताए । भवन नयाँ भएपछि अब त्यसमा शिक्षा पनि नयाँ ढंगले दिनुपर्ने भन्दै प्रधानले विद्यालयलाई तारकेश्वरकै नमूना विद्यालय बनाउने उद्घोष गरे । यस विषयमा आफूले नगरप्रमुखसँग पनि सल्लाह गर्ने बताउँदै उनले विद्यालयलाई गुणस्तरीय र प्राविधिक एवं व्यवसायिक शिक्षाको केन्द्र बनाउन सक्दो सहयोग गर्ने वचन दिए ।

विशिष्ट अतिथि एवं तारकेश्वर नगरपालिकाका प्रमुख बोहरालाले विद्यालयलाई नयाँ भवन पाएसँगै अब गुणस्तरीय शिक्षा सुधारमा केन्द्रीत हुन आग्रह गरे । ‘पहिले भवनको समस्या थियो, बाहाना पनि थियो, अब बहानाले चल्दैन काम गरेर देखाउनुस’्, उनले भने, ‘विद्यार्थीहरुलाई विद्यालयको भवन जस्तै सुन्दर र अत्याधुनिक शिक्षा दिनुहोस् ।’

विद्यालयलाई नगरकै नमूना विद्यालय बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख बोहराले यसका लागि शिक्षकहरुले इच्छाशक्ति देखाउनुपर्नेमा जोड दिए । स्थानीय अभिभावक र शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयमै छोराछोरी पढाउन उनको आग्रह थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंका प्रखुख रायमाझीले नयाँ भवनमा स्थानीय विद्यार्थीहरुको संख्या बढाउन आग्रह गरे । भवन राम्रो भएर मात्रै हुँदैन शिक्षा राम्रो हुनुपर्नेमा जोड दिँदै रायमाझीले भने, ‘स्थानीय अभिभावकको विश्वास जित्नुहोस्, त्यसका लागि शिक्षक कर्मचारीले पहिले यस विद्यालयमा छोराछोरी भर्ना गर्नुहोस् ।’नवनिर्मित भवनमा विद्यार्थी भर्ने, यसको संरक्षण गर्ने दायित्व अब नगरपालिकाको काँधमा आएको भन्दै उनले सबैको जोड अब गुणस्तरीय शिक्षाको सुधारमा हुनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रह्लाद पोखरेलले नयाँ भवन बनेसँगै यो वर्ष विद्यालयमा थप एकसय जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिए । भवनको अभावमा शिक्षण सिकाइ नै प्रभावकारी बन्न नसकेको भन्दै उनले अब विद्यालयको अर्जुनदृष्टि गुणस्तरीय र व्यवहारिक शिक्षाको सुधारमा केन्द्रित हुने बताए । अब विद्यालयमा छिट्टै सूचना प्रविधि ल्याव निर्माण गरिने जानकारी दिँदै स्थानीय विद्यार्थी संख्या बढाउन विशेष कार्ययोजना ल्याइने स्पष्ट पारे ।

विद्यालय भवन बन्दा आफू ५० प्रतिशत मात्रै खुसी भएको र जुन दिन एसईई र एसएलसीमा विद्यालयका शत्प्रतिशत विद्यार्थी एप्लस ल्याएर उत्तीर्णभएको दिन शत्प्रतिशत खुसी हुने बताए ।

कार्यक्रमको अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले २०१९ सालमा टाकुरामा सामान्य ३ कोठे छाप्रोमा शुरु भएको विद्यालय आज अत्याधुनिक भवनमा परिणत हुँदा खुसी लागेको बताए । २०५८ सालमा ४ कोठे पक्की भवन बन्दा पनि आफूहरुलाई विद्यालय दरबार लागेको स्मरण गर्दै अहिलेको भवनले गुणस्तरी शिक्षा सुधारका लागि दवाव शृजना गरेको बताए ।

प्रतिकृया दिनुहोस्