काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कारोना विपद् व्यवस्थापन समिति (सीसीएमसी) ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको स्रोतको दाबी छ ।

तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीड हुने देखिएपछि बोर्डले तालुकदार अड्डा मन्त्रालय र मन्त्रालयले सीसीएमसीसँग सल्लाह गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले ५ दिनअघि परीक्षाफल प्रकाशित गर्न सबै तयारी पूरा गरिसकेको छ । तर बोर्डले केही त्रुटि सच्याउनुपर्ने भन्दै तत्काल परीक्षाफल प्रकाशित नगर्ने जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सबै परीक्षार्थीको नाम, थर, जन्ममितिसहितको विवरण हेर्नुपर्ने भएकाले केही दिन ढिलो हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षाफल त प्रकाशित भए सरह हो, हामीले प्रमाणीकरण गर्ने काम मात्र बाँकी राखेका छौं ।’

उहाँका अनुसार परीक्षाफल प्रकाशित गर्न अझै केही दिन कुर्नुपर्ने भएको छ । परीक्षाफल प्रकाशित हुनेबित्तिकै त्रुटि सच्याउन पनिकामा देशैभरबाट विद्यार्थी आउने र बढी भीडभाड हुने सम्भावना भएपछि बोर्डले सकेसम्म मन्त्रिपरिषद्, नभए सीसीएमसी र मन्त्रालयको निर्देशन कुरेर बसेको हो । यसअघिको परीक्षाफल प्रकाशित भएको भोलिपल्ट सयौं विद्यार्थी त्रुटि सच्याउन पनिकामा आउने गरेका थिए ।

‘अहिले पनि सोही अवस्था दोहोरिन सक्ने भएकाले परीक्षाफल ढिला प्रकाशित गर्ने तयारी भएको हो’ –बोर्डको एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । विशेष गरी राजधानीलगायत देशभरका विद्यालयले परीक्षाफल प्रकाशित हुनासाथ विद्यार्थी भर्नासम्बन्धी विज्ञापन गर्ने र विद्यालयमा बोलाएर भर्ना गर्ने भएपछि बोर्डले ढिलो गरी परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

सरकारले भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्न अनुमति दिने जनाएपछि त्यही आसपासमा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्राडा पौडेलले अन्तिम तयारी भइरहेकाले केही दिन ढिलो हुने जानकारी दिनुभयो ।

बोर्डका ती अधिकारीले अहिले नै परीक्षाफल प्रकाशित गर्दा विद्यालय र पनिकामा भीड बढेर कोरोना संक्रमितको संख्या बढ्न सक्ने आँकलन गरेका कारण केही दिन ढिलो गरी परीक्षाफल प्रकाशित गर्ने आन्तरिक रुपमा निर्णय भएको जानकारी दिए ।

बोर्डले कोरोना संक्रमणको संख्या बढेसँगै यो वर्ष एसईईको साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । सरकारले यो वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई एकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।

सोहीअनुसार पनिकाले प्राप्ताङ्कलाई अक्षराङ्क पद्धतीबाट परीक्षाफल प्रकाशित गर्नेछ । मन्त्रिपरिषद्को बैठकले यो वर्षको एसईई परीक्षा लिने अधिकार विद्यालयलाई नै दिने निर्णय गरेको थियो ।

ईश्वरराज ढकालले समाचारपत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्