काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी बजेटमा विद्यालयमा कार्यरत कर्मचारी र इसिडि शिक्षकहरुको तलब बढाउन माग गरेको छ । महासंघले आइतवार अर्थमन्त्रालयमा पुगेर आगामी बजेटमा कुनै हालतमा कर्मचारी र इसिडि शिक्षकको तलब सुविधा बढ्नुपर्ने भन्दै मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो ।

आइतबार महासंघका अध्यक्ष बाबुराम थापा, सहअध्यक्ष पूर्णप्रसाद दुवाडी, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंशबहादुर शाहीसहितको टोली अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेको थियो ।

तर, अर्थमन्त्री मन्त्रालयमा नभएपछि महासंघले अर्थसचिव सिशिरकुमार ढुंगानालाई भेटेर कुनै हालतमा बजेटले विद्यालय कर्मचारी र इसिडि शिक्षकको सुविधा बढाउनुपर्ने माग राखेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

महासंघले यसअघि बैशाख ३१ गते पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलब बजेट मार्फत बढाउन भन्दै ध्यानाकर्षपत्र बुझाएको थियो । शिक्षामन्त्रीमार्फत् उक्त कुरा अर्थमन्त्रीकहाँ आइपुगेको र उहाँपनि सकारात्मक रहेको अर्थसचिवले आफुहरुलाई बताएको थापाले जानकारी दिए ।

‘गतवर्ष निजामति कर्मचारी र सरकारी शिक्षकको तलव १८ देखि २२ प्रतिशत बढ्दा पनि इसिडि शिक्षक र कर्मचारीले श्रम ऐन अनुसारको सुविधा नपाएकाले यो पटक बढाइदिन अर्थसचिवलाई ध्यानाकर्षण गरायौं’– थापाले भने ।

अर्थसचिव ढुंगानाले यसविषयमा आफु सकारात्मक रहेपनि बजेट कोरोना महामारीमा केन्द्रित हुने भएकाले यस विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि भेट्न आग्रह गरेको थापाले जानकारी दिए ।

महासंघले सोमवार र मंगलवार नेकपा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलव बजेटमार्फत बढाइदिन आग्रह गर्ने थापाले जानकारी दिए ।

महासंघले आगामी बजेटमा कर्मचारी र इसिडि शिक्षकको तलब श्रमऐनले तोकेबमोजिम कम्तिमा १३ हजार पाँचसय बनाएरै छाड्ने थापाले बताए । ‘यसैविषयमा प्रधानमन्त्रीलाई भेटेर पनि कुरा राख्छौं ।’ उनले भने ।

२०७७ जेष्ठ ४ गते २१:३७मा प्रकाशित

प्रतिकृया दिनुहोस्