काठमाडौँ । १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो ।

मजदुरीका क्रममा भारत गएका बुबाआमासँग उतै रहेकी किशोरी तीन वर्षअघि नेपाल फर्केर आफन्तकहाँ बस्दै आएकी थिइन् । ललितपुर प्रहरीका अनुसार किशोरीको प्रेग्नेन्सी रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ । तर केप्छाकीले आरोप अस्वीकार गरेकाले प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ ।

सोधपुछका क्रममा किशोरीले दुई महिनादेखि महिनावारी रोकिएको बताएकी थिइन् । किशोरीले प्रहरीसँग सुरुमा आफूमाथि आफन्तबाटै यौनहिंसा भएको बताए पनि केप्छाकी पक्राउ परेपछि फरक बयान दिएकी छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्यले पीडितले बयान फेरेका कारण सुरुमै जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नसकिएको बताइन् ।

बलात्कार आरोपबारे सोधपुछमा जाँदा केप्छाकीले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसबेलासम्म प्रहरीमा जाहेरी पनि दर्ता भएको थिएन । जाहेरी दर्ता गरेपछि पक्राउ गर्दा आरोपित भाग्ने आशंकामा प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर केप्छाकीविरुद्ध मुद्दा चलायो । अभद्रको कसुरमा हिरासतमा राख्ने सुरुको म्याद मंगलबार सकिँदै छ । पीडितलाई आश्रय दिइरहेको संस्थाले केप्छाकीविरुद्ध जबर्जस्ती करणीको आरोपमा आइतबार प्रहरीमा जाहेरी दिएको छ । करणीको जाहेरी परेपछि वृत्तले जिल्ला अदालत ललितपुरबाटै अनुमति लिएर थप अनुसन्धान अघि बढाउन लागेको हो ।

किशोरीको नियमित महिनावारी रोकिएपछि सहपाठी र वरपरकाले घटना कसरी भयो भन्नेबारे सोधपुछ गरेका थिए । त्यसपछि घटनाबारे शिक्षक केप्छाकी शंकाको घेरामा तानिएका हुन् । किशोरीसँग प्रहरीले सोधपुछ गर्दा कुरामा तालमेल नमिल्ने, हडबडाउने, अनुसन्धान नगर्न आग्रह गर्ने र अनुसन्धान गरेमा मर्छु भन्नेजस्ता अस्वाभाविक स्वभाव देखाएको एसएसपी वज्राचार्यले बताइन् ।

पीडित किशोरी १५ वर्षीया हुन् । कसुर पुष्टि भएमा पीडकलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ । आफ्नै संरक्षणमा रहेकी किशोरीमाथि करणी गरेको पुष्टि भए थप ३ वर्ष कैद हुन सक्ने कानुनी व्यवस्था छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्