सनातन माविमा छाएको सन्नाटा

Avatar photo

Byएजुकेशन पाटी

२९ माघ २०७७, बिहीबार

बैतडी । विद्यार्थीको भीडभाडले चहलपहल भइरहने बैतडीको दुर्गम दोगडाकेदार गाउँपालिका–३ स्थित सनातन धर्म माविमा एक सातायता सन्नाटा छाएको छ ।

कक्षा १२ मा पढिरहेकी १७ वर्षीया भागरथी भट्ट गत बुधबार घर फर्कने क्रममा बेपत्ता भइन् । भोलिपल्ट उनको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला पर्‍यो । त्यसपछि बन्द विद्यालय बुधबारदेखि खुले पनि विद्यार्थी त्रसित छन् । शिक्षकले पढाउन सकेका छैनन् ।

‘परिवारको सदस्य गुमाउनुपर्दाको पीडा व्यक्त गर्न सकिन्न,’ विद्यालयका प्राचार्य बलदेव नाथले भने, ‘विद्यार्थीले राम्रोसँग पढ्न र हामीले पनि राम्ररी पढाउन सकिरहेका छैनौं । सबै डिस्टर्ब छौं ।’ भागरथीको हत्या घटनाले विद्यार्थीहरू नराम्रोसँग डराएको उनले बताए । ‘यो पीडादायी माहोल साम्य हुने हो कि थप केही घटना हुने हो भन्ने अर्को चिन्ता छ,’ प्राचार्य नाथले भने ।

दोगडाकेदार–४ की रेखा भट्ट भागरथीकै उमेरकी हुन् । उनीहरूको घर फरक वडामा भए पनि विद्यालयमा सँगै हुन्थे । मिल्ने साथीको बलात्कारपछि हत्या भएको खबर सुनेबाट उनी चिन्तित र बेचैन छिन् । साथीको हत्यापछि राम्रोसँग निदाउन नसकेको उनले सुनाइन् । ‘सँगै पढ्ने साथी आँखामा झलझली आइरहन्छे तर अब ऊ फर्केर आउनेछैन,’ उनले बिलौना गर्दै भनिन्, ‘सँगै खाएको, खेलेको र रमाएको कुराको सम्झना आइरहन्छ । अब त सम्झना मात्र बाँकी रह्यो नि ।’

दोगाडाकेदार–३ का हेमन्तकुमार नाथ पनि भागरथीका साथी हुन् । एकै कक्षामा पढ्ने उनी साथीको हत्यापछि तनावमा छन् । ‘असल थिइन्, सबैसँग हाँस्ने, बोल्ने गर्थिन् । घमन्ड भन्ने केही थिएन,’ उनले भने, ‘नजानेको कुरा एक–अर्कालाई सिकाएर पढ्ने गरेका थियौं ।’ घटनापछि त्रास बढेको र विद्यालय आउजाउ गर्न असहज भएको विद्यार्थी बताउँछन् । मनीषा कपाडी पनि यो खबर सुनेदेखि रातदिन चिन्तामा छिन् । ‘विद्यालय आउँदा बाटामा जंगल छ । घटनापछि हिजोआज खुबै डर लाग्ने गरेको छ,’ उनले भनिन्, ‘धेरै जना सँगै भएर बुधबारदेखि विद्यालय गइयो तर सधैं सँगै कहाँ भइएला र ?’ बुधबारदेखि विद्यालय आए पनि पढाइमा ध्यान दिन नसकेको उनको भनाइ छ । ‘अभिभावक पनि डराएका छन्, साथीसंगीबिना एक्लै विद्यालय पठाउन डराइरहेका छन्,’ उनले भनिन् ।

भागरथीको शव फेला परेको बुधबार सातौं दिन भयो । घटनाका दोषी पत्ता नलागुन्जेल शव नबुझ्ने आफन्तको अडानले उनको शव जिल्ला अस्पतालमै छ । अपराधी उम्किन्छन् कि भन्ने डरले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले आफूहरू अनुसन्धानकै क्रममा रहेको बताए । ‘अनुसन्धानको दायरा साँघुरिँदै गएको छ,’ उनले भने, ‘अपराधीलाई नियन्त्रणमा लिन्छौं । पीडितलाई न्याय दिन्छौं ।’ जिल्ला सदरमुकाममा भागरथीको न्यायका लागि विरोधका कार्यक्रम भइरहेका छन् । विद्यार्थी, नागरिक अगुवालगायत संघर्ष समितिले बुधबार पनि दोषी छिटो पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

दोगडाकेदार–७ चडेपानीकी भागरथीको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा गत बिहीबार खोचलेक चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । सनातन धर्म माविमा १२ कक्षामा अध्ययनरत उनी बिहान १० बजे विद्यालय गएकी थिइन् । २ बजेसम्म पढाइ सकेर केही साथीसँग घर हिँडेकी उनी साँझ घर पुग्न पाइनन् । त्यही दिन बेपत्ता उनको शव बिहीबार भेटिएको थियो ।

तृप्ति शाहीले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्