काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४७ औं दीक्षान्त समारोहमा सीमित विद्यार्थी मात्रै सहभागी भएका छन् । सोमबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा आयोजित समारोहमा कोरोना महामारीका कारण दीक्षित हुने सीमित विद्यार्थी मात्र बोलाइएका थिए । बोलाइएकामध्ये विद्यावारिधि, डीएम/एमसीएच, दर्शनशास्त्री (एमफिल) तथा स्नातकोत्तर र स्नातकमा पदक प्राप्त मात्र थिए ।

कार्यक्रममा उपाधि पाउने केही विद्यार्थी भने अनुपस्थित रहे । चिकित्साशास्त्रतर्फ विद्यावारिधिसरह एमसीएच/डीएम उपाधि हासिल तीन जना उपस्थित रहेनन् । डिन प्रा.डा. दिव्या सिंह शाहले ‘उपस्थितिमा उपाधि ग्रहण गर्ने’ तालिकामा उल्लेखित नामै लिएर उपाधि ग्रहणका लागि बोलाएकी थिइन् । तर, उपाधि लिन कोही आएनन् । ‘हामीले उपाधि हासिल र पदक प्राप्त विद्यार्थीलाई बोलाएका हौं,’ परीक्षा नियन्त्रण पुष्पराज जोशीले भने, ‘उपाधि र पदक प्राप्त धेरै जना उपस्थित हुनुभएन । त्यसमध्ये एक जना पदक प्राप्त व्यक्ति विदेशमा रहेछन् ।’

शिक्षाविद्हरू भने उच्च शिक्षाको महत्त्वपूर्ण दीक्षान्त समारोहमा पुरस्कृत विद्यार्थीकै अनुपस्थितिलाई विश्वविद्यालयको शिक्षाप्रतिको विश्वसनीयतामा कमी आएको ठान्छन् । ‘दीक्षान्त भनेको सबभन्दा महत्त्वपूर्ण समारोह हो,’ शिक्षाविद् प्रा. विनयकुमार कुसियतले भने, ‘यो संवेगात्मक हुन्छ । तर त्रिविले औपचारिकतामा सीमित गरेको छ । विश्वविद्यालयको लक्ष्य हराएको, कार्यक्रम प्रभावकारी नभएको लगायत असर दीक्षान्तमा पनि देखिएको छ ।’

त्यस्तै, शिक्षाविद् विद्यानाथ कोइराला भने विश्वविद्यालयको प्रमाणपत्रको महत्त्व ओजिलो हुन नसक्दा दीक्षान्तमा आकर्षण घटिरहेको बताउँछन् । ‘दीक्षान्त जसले दिन्छ, दीक्षा दिनेको हैसियतका छैनन्,’ उनले भने, ‘गाउन लाउँदैमा र प्रमाणपत्र लिँदैमा त्यसले गरेर खान दिँदैन भन्ने बुझेका छन् ।’

उक्त कार्यक्रममा कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यावहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताए । शिक्षामन्त्री तथा त्रिविका सहकुलपति देवेन्द्र पौडेलले पनि नेपालका विश्वविद्यालयबाट उत्पादित दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनु परेको टिप्पणी गरे । ‘यो अवस्थालाई हेर्दा कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम र विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खान/हुन सकेनन् कि ?’ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कतै सिकेको ज्ञानसीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखेर व्यवहारमा अनुवाद गर्न सकेनौं कि ? तर, प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेल दुवैले विश्वविद्यालयबाट निस्केको जनशक्तिलाई स्वदेशमै खपत गराउने योजनाबारे केही बताएनन् ।

समारोहमा विश्वराज पौडेलले व्यवस्थापन संकायअन्तर्गत एमफिल र मेरिना नेपालीले एमबीएमा उत्कृष्ट भएर स्वर्ण पदक पाए । रमण श्रेष्ठले स्नातक तह सिभिल इन्जिनियरिङ विषयमा ‘शिवराज पन्त मेमोरियल अवार्ड’ थापे । समारोहमा बीएएलएलबीमा विशिष्ट श्रेणीमा उत्तीर्ण दीप्ति सापकोटाले ‘लोकराज ज्ञवाली स्वर्णपदक’ पाइन् । कार्यक्रममा २९ हजारभन्दा बढी दीक्षित भए । समारोहमा भारतको प्रतिष्ठित शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), दिल्लीका निर्देशक प्राध्यापक रामगोपाल रावलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्