काठमाडौं । अहिले वैकल्पिक सिकाइका रुपमा अलाइन कक्षा चलिरहेको छ । अनलाइनका लागि बालबालिकालाई मोबाइल, ट्याब वा ल्यापटप दिनैपर्ने हुन्छ । तर यी उपकरण दिएर तपाईं ढुक्क भने नहुनुहोस् । किनकी अनलाइन कक्षाको निहुँमा विभिन्न गेम तथा साइट हेर्ने बानीले बालबालिका डिजिटल कुलतमा फस्ने जोखिम पनि बढ्दै गएको छ ।
कोरोनाका कारण ८ महिनादेखि विद्यालय बन्द छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि कार्यन्वयन हुने गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरेपछि अनलाइन कक्षा सुरु भएको छ । तर आफ्ना बालबालिका डिजिटल लतमा फस्ने हुन कि भन्ने चिन्ता अभिभावकमा बढ्दै गएको छ । बालबालिका पढाइ छोडेर पपजी, फ्रिफायरलगायतका गेम तथा अन्य क्रियाकलापमा संलग्न हुँदा यसले मानसिक समस्या ल्याउने विज्ञहरूले औंल्याएका छन् ।
शिक्षा मन्त्रालयका शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसन्धानकर्ता एवं अधिकृत श्यामप्रसाद आचार्यकी छोरी कक्षा ७ मा पढ्छिन् । उनी कक्षाको क्याप्टेन र पढाइमा अब्बल छात्रा हुन् । बन्दाबन्दीमा स्कुलले अनलाइन कक्षा सुरु गरेपछि आचार्य दम्पतिले छोरीलाई ल्यापटप, मोबाइल र नेट सुविधा मिलाइदिए । अनलाइन कक्षा सुरु भयो । तर केही दिनमै आचार्यलाई छोरी आजकल अनलाइन कक्षामा अनुपस्थित भइरहेको भन्दै फोेन आयोे । स्कुलबाट बच्चा निकाल्न लागेको हो र भन्ने प्रश्नले आचार्य छक्क परे । छोरीसँग कुराकानी गर्दा उनले पत्तो पाए कि छोरी साथीहरूसँग मिलेर पढ्ने बेला पपजी गेममा व्यस्त हुन थालेकी रहिछन् ।
कैलाली गौरीगंगा नगरपालिकाका शिक्षा विभाग प्रमुख हरिश पन्तका छोराले एसइई परीक्षामा राम्रो गर्न सकेनन् । किनभने एसइई परीक्षा तयारीका लागि स्कुलले अनलाइन कक्षा सञ्चालन गर्यो । छोराले अनलाइनबाट सिकाइ गर्नुको साटो साथीसँग समूह बनाएर अनलाइन गेममा ब्यस्त हुन थाल्यो । कक्षाबाट अफलाइन हुन थालेको उनको बुवा हरिश बताउँछन् ।
ललितपुरमा रहेको प्रसादी एकेडेमीका संस्थापक विक्रम राईका छोरा सेन्ट जेभियर्स स्कुलका कक्षा १० का विद्यार्थी हुन् । अनलाइन कक्षा सुरु भएपछि छोरा दिनभरि मोबाइलमै व्यस्त रहने र आफूले केही बेरको लागि छोराको हातबाट मोबाइल लिनसाथ छोरो झर्किने र रिसाउने गरेको बाताउँछन् ।
लोकसेवा आयोगका वरिष्ठ मनोविद् सरगुन शाक्यका छोरा कक्षा ५ मा मोर्डन इन्डियन स्कुलमा अध्ययनरत छन् । उनको पनि अनुभव उस्तै छ । स्कुलले सुरु गरेको अनलाइन कक्षाको निहुँमा छोरो अनलाइन गेम खेल्नतर्फ बढी आकर्षित भएको छ ।
ग्याजेट तथा डिजिटल एडिक्ट बन्दै बालबालिका
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसन्धानकर्ता श्यामप्रसाद आचार्यका अनुसार स्कुलहरूले सुरु गरेको अनलाइन कक्षा स्कुलले उनको छोरी १२ दिनदेखि कक्षामा गयल भएको सुनाउँदा उनको होसहवास उड्यो । किनभने विद्यालयकी उत्कृष्ट र कक्षाको क्याप्टेन छोरी एकाएक पढाइबाट कसरी ढाटा भइन् भन्ने उनको चिन्ताको विषय बन्यो । स्कुलको सूचनापछि उनले छोरीको अनलाइन कक्षाबारे सोधपुछ गरे र कारण पत्ता लगाए । छोरीले १४ जना साथीको टिम बनाएर अनलाइन कक्षाको समयमा पपजी गेम खेल्ने गरेको थाह भयो । ‘मैले छोरीको मोबाइल चेक गर्दा कहिल्यै समाजिक सञ्जाल नचलाएकी छोरीको इनस्टाग्राम एकाउन्ट बनाएर साथीभाइसँग गफमा एक्टिभ भएको पाए,’ आचार्यले भने, ‘१४ जनाको समूह बनाएर पपजी गेम त्यो पनि प्रतिस्पर्धा गरी खेल्ने गरेको पाए ।’ उनले थपे ‘बच्चाहरू यतिसम्म ग्याजेट एडिक्ट भइसकेका रहेछन् कि गेम खेल्ने प्रतिस्पर्धामा अनलाइन कक्षामा गयल भएका रहेछन् ।’ उनले अनलाइनले बच्चाहरूमा नकारात्मक क्रियाकलापको लतमा फसाउँदै लगेकोमा चिन्ता व्यक्त गरे ।
कैलालीका गौरीगंगा नगरपालिकाका शिक्षा विभाग प्रमुख हरिश पन्तका छोरा अनलनइन कक्षा सुरु हुनुपूर्व निकै एकाग्रतासाथ अध्ययन गरेर एसइई परीक्षाको तयारी गरेका थिए । तर बन्दाबन्दीको समयमा सैनिक महाविद्यालय अत्तरियाले बालाबलिकाको परीक्षाको थप तयारी गराउन अनलाइन कक्षा सुरु गर्यो । हरिशले छोरोलाई ल्यापटप र मोबाइल दिए र नेट पनि जोडिदिए । ‘मैले यही नै गल्ती गरे । अनलाइन कक्षामा बसे छोराको एसइई परीक्षा थप राम्रो हुने विश्वास थियो,’ उनी भन्छन्, ‘तर छोरा त कक्षामा सहभागी नभएर साथीसँग अन्य विषयमा गफ गर्ने, अनलाइन गेम खेल्ने र अनावश्यक भिडियो हेर्न थालेको पाए ।’
प्रसादी स्कुलका संस्थापक विक्रम राईले अनलाइन कक्षाको बहानामा छोरो धेरै बेरसम्म मोबाइलमै व्यस्त हुने गरेको बताए । ‘अनलाइन कक्षाको बहानामा छोरो धेरै बेरसम्म मोबाइलमा झुन्डिने गरेको छ,’ राईले भने, ‘आमाबुवासँग बोल्नै बिर्सेछ । म त आफंै अनलाइन कक्षाबाट पीडित भएको छु ।’
लोकसेवा आयोगका वरिष्ठ मनोविज्ञान विज्ञ सरगुन शाक्यका अनुसार स्कुलमा वातावरण नियन्त्रित भएकोले बालबालिकाहरू एकचित्त भएर अनलाइन कक्षामा अध्ययन गर्ने भए पनि घरमा भने नियन्त्रित वातावरण हँुदैन । ‘अनलाइन कक्षामा बच्चाहरू ल्यपटप र मोबाइल दुवै लिएर बस्छन् । मोबाइलमा गेम खेल्छन् र ल्यापटबाट कक्षामा सहभागिता जनाइरहन्छन् तर उनीहरूको पढाइ भन्दा पनि मोवाइलमा साथीसँग च्याट गर्न र गेम खेल्नमा ध्यान जानेको गरेको पाएएको छ ।’ उनले थपे ‘अनलाइन कक्षाको बहानामा केटाकेटीहरू डिजिटल एडिक्ट जस्तै बन्दै छन् ।’
व्यवहारमा परिवर्तन
ग्याजेट तथा डिजिटल लतमा फसेका बालबालिकाको व्यवहारमामा परिवर्तन आउने गर्छ । इआरओका अनुसन्धानकर्ता आचार्यका अनुसार ग्याजेट लतमा फसेका बालबालिकामा अध्ययनमा एकाग्रता हुँदैन । उनीहरूको आनीबानी नै परिवर्तन हुन्छ । ‘आमाबुवाले कुनै कामका लागि बोलाएमा विभिन्न बहानाबाजी गरेर समयमा नआउने तर ग्याजेटमा गेम वा अन्य साइट हेरेर बस्ने गर्छन्,’ उनले भने, ‘बच्चाहरूसँग केहीबेरका लागि पनि मोबाइल खोसे वा नदिए उनीहरूको सबथोक गुमेजस्तो व्यवहार देखाउँछन् । उनले थपे, ‘यस्तो व्यावहारिक परिवर्तन देख्नासाथ अभिभावकले आफ्ना नानीहरू ग्याजेट लतमा फसेको बुझ्नुपर्छ ।’
यति मात्र होइन लोकसेवा आयोगका वरिष्ठ मनोविज्ञान विज्ञ शाक्यका अनुसार डिजिटल लतमा फसेका केटाकेटीहरू एक्लो बस्न रुचाउने र चिडचिडे स्वभावका पनि हुन्छन् । यसकासाथै अनलाइन कक्षामा बस्दाबस्दे नानीहरू साइनआउट गरी गेम खेल्न थाल्ने र शिक्षकलाई बत्ती गयो भनेर ढाँट्नसमेत चुक्दैनन् । ग्याजेट लतमा फसेका नानीहरू झगडा गर्ने र रिसाउने पनि गर्ने गरेको उनले जनाए । नानीहरूको व्यवहार परिवर्तन हुनासाथ आमाबुवाले बालबच्चाप्रति सचेत हुनुपर्ने उनको सुझाव छ ।
पाठ्क्रममा आधारित अनलाइन कक्षा नभएकाले डिजिटल लतमा
लामो समयदेखिको बन्दाबन्दीले गर्दा बालबालिकालाई साथीभाइसँग खेल्ने कुद्ने र रमाइलो गर्ने बाटो बन्द भएको छ । यसको विकल्पको खोजीमा ग्याजेट लतमा फस्ने बाटो खुल्दै शाक्य बताउँछन् । विदेशतिर विद्यालय शिक्षाको पाठ्यक्रम नै अनलाइनमा आधारित भएर बनाइएको हुन्छ । त्यही भएर विदेशतिर बालबालिकाहरू सबै अध्ययन सामग्री अनलाइनबाटै खोजेर अध्ययन गर्ने गरेको र उनीहरूको पठनपाठनलाई पाठ्यक्रमसँगै जोडिएको हुनाले अभिभावकको पनि चासो हुने गरेको मनोविद् शाक्यले जनाए ।
‘तर हामीकहाँ सिकाइ पाठ्यक्रम पुस्तकमा आधारित छ । अनलाइन कक्षासँग मेलनै खादैन । हाम्रा पाठ्यक्रम अनलाइन क्रियाकलाप कक्षामा आधारित छैन,’ मनोविज्ञ शाक्यले भने, ‘विदेशतिर अनलाइन क्रियाकलापमा आधारित पाठ्यक्रम भएकोले शिक्षक, विद्यार्थी र अभिभावक सबै सहभागी हुन्छन् । तर नेपालमा शिक्षकले अनलाइन कक्षामा समेत पाठ खोलेर विद्यार्थीलाई पढ भन्ने निर्देशन दिएर छाडिदिन्छ । बच्चा पनि बन्द कोठामा एक्लै बसेर पढेजस्तो गर्छ । अभिभावकले डिस्टर्व हुन्छ भनी सोधीखोजी नै नगरेको कारण बिग्रेको हो ।’ उनले अनलाइन कक्षामा विविधता हुुनुपर्ने त्यो हुने पाठ्क्रम नबनेकाले समस्या आएको उनको भनाइ छ ।
आमाबुवा तथा परिवारको भूमिका
अनलाइन कक्षामा आफना नानीहरू सहभागिता जनाएसँगै अभिभवाकहरू पनि सहभागी हुनुपर्ने अनुसन्धानकर्ता आचार्यको अनुभव छ । उनले आफनो बच्चाको ख्याल राख्न आमाबुवाले कम्प्युटरमा पेरेन्टल कन्ट्रोल एप राखेर आफ्नो मोबाइलबाट बालबच्चाको गतिविधि हेर्नुपर्ने सुझाए । बच्चामा विगतभन्दा फरक व्यवहारमा परवर्तन देख्नासाथ सोधिखोजी गरी त्यसलाई समाधान गर्ने उपाय अभिभावकले खोज्नुपर्ने उनको भनाइ छ ।
मनोविद् शाक्यले छोराछोरीलाई राम्रो बाटो देखाउन अभिभावकको महत्वपूर्ण भूमिका रहेकोले आफ्ना छोराछोरी के गर्दैछन्, कसरी पढ्दैछन् कति समय डिजिटल ग्याजेट चलाउन्छ् र कुनकुन साइट हेर्छन् भन्नेबारे बझुन् अति आवश्यक रहेको बताउँछन् ।
यस्तै, स्कुलले अनलाइन कक्षा पाठ्यक्रममा आधारमानेर क्रियाकलापमा फोकस भएर शिक्षण सिकाइ गराउनुपर्छ । धेरै होमवर्क दिँदा नानीहरूलाई मानसिक तनाव बढी हुने भएकोले कथा, कवित, आफुले अनुवभ गरेका विषयवस्तु रमाइले वातावरण बनाएर विद्यार्थीलाई शिक्षण सिकाइ गराउनुपर्ने शाक्यको भनाइ छ ।
यस्तै, सरकारले विद्यालय गतिविधि सञ्चालनको स्पष्ट निर्देशन दिन नसक्नु अर्को कमजोरी भएको मनोविज्ञ शाक्यले बताए । ७० लाख बालबालिका ६ महिनादेखि घरमै थुनिएका छन् । तर सरकारले कुनै शैक्षिक गतिवधि अघि बढाएकै छैन । बालबालिकामा मानसिक तनाव बढ्दै गएको छ । त्यसैले शैक्षिक क्रियाकलापमा सरकारले स्पष्ट मार्ग निर्देशन ल्याउनुपर्ने शाक्य बताउँछन् ।
रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।