खोटाङ । नेपाली कांग्रेसको जारी अधिवेशनमा शिक्षकदेखि कर्मचारीसम्म प्रतिष्पर्धामा भाग लिएर विजयी भएका छन् । कम्तीमा ६ जना शिक्षक तथा कर्मचारी क्षेत्रीय तथा जिल्ला अधिवेशनका लागि सहभागी हुन क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित स्वास्थ्य चौकीकी अनमी चन्द्रमायाँ राई महिलातर्फको खुला क्षेत्रीय प्रतिनिधिमा विजयी भएकी छन् । सप्तेश्वर छितापोखरीकै मान्दतास्थित जंगदेव प्राविका प्रअ रविनारायण श्रेष्ठ आदिवासी जनजाति क्षेत्रीय प्रतिनिधि तथा सप्तेश्वर छितापोखरीस्थित डाडाँखर्कस्थित सरस्वती माविका प्रअ सुमन खड्का पनि खुलातर्फको क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् ।

यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित पञ्चकौशिका माविका प्रअ पवनकुमार बस्नेत, उक्त विद्यालयकै शिक्षक बलराम बस्नेत, बतासेकै भण्डारीडाडाँस्थित जनता माविका प्रअ पवन राई, दिप्रुङ चुइचम्मा गाउँपालिका–३ छोरम्बुस्थित चण्डी निकेतन प्राविका प्रअ मणिकुमार राई पनि क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् ।

यस्तै छोरम्बुकै शान्ति माविका शिक्षिका डोलकुमारी बस्नेत क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् । तीमध्ये पवनकुमार बस्नेत भने शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार बने पनि पराजित भए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित धिप्लुङ माविका शिक्षक रमेशकुमार खड्का, भोजपुरमा शिक्षण गर्ने जर्ण चाम्लिङ लगायत शिक्षक क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका जालपा मावि नुनथलाका शिक्षक मणिराज राई पनि क्षेत्रीय प्रतिनिधि विजयी भएका छन्।

शिक्षक सेवा ऐन तथा निजामति सेवा ऐनले सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक संगठनको सदस्यता लिन नपाउने कानुनी व्यवस्था गरेको छ । तर खोटाङस्थित ठूलो संख्यामा शिक्षक तथा कर्मचारीहरू विभिन्न राजनीतिक दलमा आवद्ध छन् ।

यसपटक कांग्रेसको अधिवेशनमा उनीहरूमध्ये केही शिक्षक र कर्मचारीहरू सार्वजनिक रुपमा प्रतिष्पर्धामै उत्रिए । राजनीतिक अधिकार भएकाले आफूहरू पार्टीमा संलग्न भएको सप्तेश्वर छितापोखरी डाडाँखर्कस्थित सरस्वती माविका शिक्षक सुमन खड्काको जिकिर छ । ‘मान्छे पनि थिएनन्, यसो एक भोटका लागि प्रतिनिधि भएको हो’ खड्काले भने ।

डम्बरसिं राईले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्