काठमाडौं । नारायणहिटी भन्नासाथ जोकोहीले राजदरबार बुझ्छन्। तर, यो सत्य होइन। नारायणहिटीले नेवारी भाषामा नारायण भगवान्को मन्दिरसँगै ढुंगेधारालाई जनाउँछ। काठमाडौं नेवार समुदायको बाहुल्य भएको सहर हो। तर, यसरी नै नेवार समुदायको भाषा, संस्कृति तथा रहनसहनलगायत मौलिकता हराउँदै गएकाले हाल स्थानीय सरकारले महानगरभित्रको रहनसहन, संस्कृति, पहिचान, चाडपर्वलगायत मौलिकताको संरक्षण र संवद्र्धन गर्न स्थानीय पाठ्यक्रम तयार पारेको नेपाल भाषाविज्ञ एवं स्थानीय पाठ्यक्रम समिति संयोजक डा. चुन्दा बज्राचार्यले बताइन्।
चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइने यो पाठ्यक्रम महानगरको सातौं सभाले पास गरिसकेको छ भने बुधबार महानगर शिक्षा समितिले पास गर्ने तय गरिएको छ।
समितिले पास गरेपछि काठमाडौं महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आधारभूत तहदेखि स्थानीय भाषाको पाठ्यक्रम कार्यान्वयन हुने उनले बताइन्। आधारभूत तहका कक्षा १–८ सम्मका विद्यार्थीले पूर्ण रूपमा अभ्यासमा आधारित स्थनीय विषयवस्तुबारे शिक्षा हासिल गर्ने पाठ्यक्रम तयार गरिएको संयोजक बज्राचार्यले जनाइन्। उनले भनिन्, ‘कक्षा १–३ सम्मका बालबालिकालाई नेपाल भाषामै बुझ्न सहज हुने गरी सय पूर्णाङ्क नै अभ्यासगत पाठ्यक्रम तयार गरिएको छ।’
उनले थपिन्, ‘यःमरि, मरुहिटी, क्वहिटीजस्ता रैथाने शब्दलाई अरू भाषामा बुझाउन सकिँदैन। अन्य भाषामा उल्था गर्दा यसको मौलिकता हराउँछ। त्यही भएर काठमाडौंको रहनसहन, जनजीवन, संस्कृति र सम्पदालाई स्थानीय भाषामै शिक्षा दिँदा मौलिकता कायम हुने भएकाले नेपाल भाषा शिक्षणको माध्यम बनाइएको हो।’
काठमाडौं महानगरपालिका सहरी योजना आयोग सदस्य गुजेश्वरी श्रेष्ठले काठमाडौंकै नेवार समुदायका नयाँ पुस्तामा समेत आफ्नो भाषा, संस्कृति, परम्परा हराउँदै गएको गुनासो गरिन्। उनले काठमाडौंका मात्र होइन, काठमाडौं बाहिरबाट आउने बालाबलिकालाई समेत स्थानीय परम्परा, संस्कृति र संस्कारबारे सहज रूपमा बुझ्नसक्ने पाठ्यक्रम तयार गरिएको जनाइन्। उनका अनुसार पाठ्यक्रमले मुख्य १० वटा विषयवस्तुलाई समेटेको छ।
काठमाडौं महानगरका चाडपर्व, संस्कार, सम्पदा, सिपकौशल, व्यक्तित्व परिचय, भाषा, व्यवसाय, नैतिक शिक्षा, खेलकुद, भौगोलिक र सरसफाइ तथा स्वास्थ्य विषय समेटेर पाठ्यक्रम तयार गरिएको हो। ‘नेवार समुदायभित्रकै नयाँ पुस्तामा नेपाल भाषा तथा संस्कृति हराउँदै गएको छ, नयाँ पुस्ताले नेपाल भाषा बुझ्दैनन् र बोल्न सक्दैनन्,’ सदस्य श्रेष्ठले भनिन्, ‘नेवार समुदायको अस्तित्व जगेर्ना गर्न पनि नेपाल भाषामा पाठ्यक्रम तयार पारिएको हो।’
उनले थपिन्, ‘विश्वको सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ, हनुमानढोका, महाबौद्ध र स्वयंभूनाथ काठमाडौं महानगरभित्रै छन्। हाम्रा यी सम्पदाबारे बालबालिकालाई व्यावहारिक ज्ञान दिनलाई स्थानीय भाषाको पाठ्यक्रम आवश्यक ठानिएको हो।’
कक्षा ४ र ५ मा ७५ पूर्णङ्कको अभ्यासगत र २५ नम्बरको सैद्धान्तिक, कक्षा ६, ७ र ८ मा भने ५० नम्बरको अभ्यासगत र ५० नम्बरकै सैद्धान्तिक विषय पठनपाठन गराइने छ। महानगर शिक्षा विभागका अनुसार हाल महानगरमा कुल सात सय ३२ विद्यालय सञ्चालित छन्। जसमध्ये ९२ सामुदायिक र ६ सय ४० संस्थागत विद्यालय छन्। महानगर शिक्षा विभागले नेपाल भाषाबाट पठनपाठन गराउनकै लागि एक सय ३५ जना शिक्षक व्यवस्थापनको तयारी थालेको छ।
रुबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।