काठमाडौँ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आइतबार भएको झडपपछि नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।’
उनले गाउँगाउँबाट शिक्षकलाई काठमाडौं छिटो आउनसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीको रगत बगीसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला,’ उनले भनेका छन्।
महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आई आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
आइतबार शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुङ्गामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको महासंघको आरोप छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ ।
शिक्षक आन्दोलन २६ दिनदेखि लगातार जारी छ। शिक्षा ऐन जारी हुनुपर्नेमागसहित सुरु भएको आन्दोलनको भीडले आइतबार निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरासहित बल प्रयोग गर्दा शिक्षक, प्रहरी र पत्रकार घाइते भएका छन्।