कक्षा १२ को परीक्षा शुरु

Avatar photo

Byएजुकेशन पाटी

९ मंसिर २०७७, मंगलवार
पद्मोदय माध्यमिक विद्यालय काठमाडौंमा कक्षा १२ को वार्षिक परीक्षा दिँदै परीक्षार्थी

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिएको हो ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा चलेको थियो । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने जनाइएको छ ।

स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिएका हुन् ।

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिएको जानकारी दिए । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने नियम राखिएको थियो । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइएको थियो । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

प्रतिकृया दिनुहोस्