हेटौंडा । हेटौंडा–१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालयको सात कक्षाका विद्यार्थी मनिष गौतम हेटौंडा–४, कमलडाँडास्थित घरमा खेलेर आफ्नो दिन कटाउने गरेका छन् । विद्यालय ‘बिदा’ भएदेखि आफू साथीहरुसँग समय बिताउने गरेको त कहिले मोबाइलमा गेम खेल्ने गरेको गौतम बताउँछन् । विद्यालयबाट बैकल्पिक पढाइबारे कुनै जानकारी नआएको उनी बताउँछन् ।
सिद्धार्थ माध्यमिक विद्यालयको कक्षा–८ मा अध्ययनरत् मनिषा कार्की भन्छिन्–अस्ति स्कुलले होमवर्क दिएको थियो । तर, हाल पढ्नुपर्छ भन्ने कुनै कार्य विद्यालयले गरेको छैन । घरमा टिभी सिरियल हेरेर, साथीहरुसँग खेल्दै आफ्नो दैनिकी चलिरहेको उनको भनाइ छ ।
हेटौंडा–१, चौकीटोलको मन्दिरनजिक खेलिरहेको अबस्थामा भेटिएकी कक्षा–३ मा अध्ययनरत् सुविज्ञा ढकालको पनि उस्तै दिनचर्या छ । साथीभाइसँग दिनभर खेल्ने नै उनको दिनचर्या हुने गरेको छ । चैतमा बन्द भएका विद्यालय अझै खुलेका छैनन् । कोरोना भाइरसको डर र लकडाउनले बालबालिका विद्यालयबञ्चित छन् ।
बालबालिकाको पहुँचमा शिक्षा पु¥याउन संघीय सरकारले वैकल्पिक शिक्षा योजना ल्याए पनि त्यसको प्रभाव मकवानपुरका अधिकांश सामुदायिक विद्यालयमा परेको छैन । स्थानीय तहले अपनत्व नलिँदा विद्यालयले वैकल्पिक पढाइ सुरु गर्न सकेका छैनन् । बालबालिकाले सिकेका कुरासमेत बिर्सिन थालेका छन् भने कतिपयमा मानसिक असरसमेत देखिन थालेको छ ।
विद्यालयले नतिजा निकालेको छ, भर्ना प्रक्रियासमेत सुरु गरेको छ तर पढाइ सुरु गरेका छैनन्, जसले मकवानपुरका सामुदायिक विद्यालयका अधिकांश बालबालिका खेलेर दिन बिताउने गरेका छन् । लामो समय विद्यालय जान र पढ्न नपाउँदा बालबालिकाले पढेका कुरा बिर्सेका छन् । घरभित्र थुनिएर बस्नुपर्दा अत्तालिएका छन् ।
अभिभावकको प्रत्यक्ष रेखदेख नहुने बालबालिकामा मानसिक समस्या हुने र दुव्र्यसनमा फस्ने समस्यासमेत देखिएको छ ।एक निजी विद्यालयकी अभिभावक केशा नेपाल भन्नुहुन्छ–अनलाइन शिक्षा प्रणाली बालबालिकाका लागि प्रभावकारी हुन सकेन । उहाँका छोरा प्रतीक कक्षा–३ मा अध्ययनरत् छन् । अनलाइन पढ्ने गरेका छन् । तर, विद्युत् आउने/जाने भएका कारण प्रतीकले राम्ररी पढ्न नपाएको उहाँको गुनासो छ । ‘यस्तै अबस्थाले त आउने समयमा बालबालिका स्कुल जान नमान्ने हुन् कि,’ चिन्तामा हुनुहुन्छ उहाँ ।
सामुदायिक अभिभावक संघ अध्यक्ष ध्रुवप्रसाद चौलागाईं भन्नुहुन्छ–बालबालिकाहरु फुर्सदिला भएका छन् । यसका कारण उनीहरु नराम्रो बाटोमा हिँड्छन् कि भन्ने डर छ । हामीले स्थानीय निकायसँग समन्वय गरेर अघि बढ्नुपर्छ । यस विषयमा उहाँहरुले पनि गम्भीर भएर सोच्नुपर्छ ।
बालबालिकाले पढ्न बिर्सिसकेको अबस्था आएको उहाँले बताउनुभयो । राज्यले अनलाइन शिक्षा प्रणाली शुरु त ग¥यो, तर प्रभावकारी भने बन्न नसकेको चौलागाईंको गुनासो छ । विशेषगरि विद्यालयका शिक्षकले त्यति ध्यान नदिएको आरोप लगाउनुहुन्छ उहाँ । गृहकार्य दिने कार्य निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका शिक्षकले वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो ।
संस्थागत विद्यालय अभिभावक संघ अध्यक्ष रमिला सापकोटा भन्नुहुन्छ–लकडाउनका कारण बालबालिका दुव्र्यसन र कुलतमा फस्ने खतरा छ । विद्यार्थीले पढ्नुपर्छ भन्ने कुरा नै भुलिसकेको हो कि भन्ने उहाँ गुनासो गर्नुहुन्छ । सापकोटाले देखेअनुसार बालबालिकामा मोबाइलमा पब्जी खेल्ने लत नै लागिसकेको छ । उहाँ भन्नुहुन्छ–यसबेला पूर्णतः अभिभावकले समय नदिने हो भने बालबालिका कुलतमा फस्न बेर लगाउँदैनन् ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विद्यालय नै क्वारेन्टिन बनाएका स्थानीय तह महामारीका बेला बालबालिकालाई शिक्षामा कसरी जोड्ने भन्नेमा संवेदनशील छैनन् । संघीय सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट विद्यार्थीको पढाइ सुरु गरेको छ । त्यसको प्रभाव मकवानपुरमा खासै देखिँदैन ।
हेटौंडामा ७० प्रतिशतमा यसको पहुँच रहे पनि गाउँपालिकाका भने २० प्रतिशतमात्र यो प्रणालीमा सहभागी हुन सकेको शिक्षा समन्वय एकाईं मकवानपुरले जनाएको छ । एकाईं प्रमुख लीलानाथ गौतम भन्नुहुन्छ–अनलाइन शिक्षा प्रणालीमा पहुँच भएका विद्यार्थी सहभागी हुन नचाहेको अबस्था छ । पढ्ने वातावरण नै हराइसकेका कारण यस्तो समस्या देखापरेको उहाँले बताउनुभयो ।
सीधै पढाइमा लैजानेभन्दा पनि बालबालिकालाई रिफ्रेस बनाउने र उनीहरुलाई मानसिकरुपमा पढाइका लागि तयार गर्ने, मनोसामाजिक परामर्श दिने, वैकल्पिक प्रविधि प्रयोग गर्ने कार्य तत्काल गर्नु जरुरी रहेको गौतमको भनाइ छ । स्थानीय तहले यस विषयमा ध्यान दिनु जरुरी रहेको उहाँको सुझाव छ ।
समाचारपत्रमा खबर छ ।