२०७६ भदौ २ गते

शिक्षक छनौट प्रक्रियाका कहालीलाग्दा कथाहरु

जीतबहादुर शाह

चाहे व्यक्तिगत जीवन बाँच्दा होस वा पेशागत जीवन, मानिसले चाहेर वा नचाहेर पनि विभिन्न कामहरु गर्नुपर्ने हुन्छ । कहिलेकाही त मानिसले जीवन जिउने क्रममा मुटुमाथि ढुङ्गा राख्दै नचाहेका कामहरुमा समेत हात हाल्ने गर्दछ । कतिपय अवस्थामा नूनको सोझोको लागि पनि नचाहेका कामहरु गर्ने गर्दछ मानिस । अन्तत ती कामहरुले पछि सम्म पनि पिरोलिरहन्छन् । कतै रमाइलो गरौं भन्दा पनि उक्त कामको सम्झना भयो भने रमाइलो महसुस हुदैन । सुत्ने समय भयो भनेर ओछ्यानमा गयो भने पनि निद्राले पछ्याउदैन ।

खाने समय भयो भनेर भान्सामा गयो भने पनि त्यो कुराको सम्झना भयो भने मीठो खानाको स्वाद पनि के कस्तो हो थाहै हुदैन । जीवन होसमा छ वा बेहोसीमा थाहै नपाइ त्यस्ता मानिसहरुको जीवन आफ्नै किसिमले ढल्किरहेको हुन्छ । यात्राको क्रममा मेरो एकजना सहकर्मी मित्रले यस्तै कुराको उठान गरेर  न त यात्राभरि उनी नै रमाउन सके न त मलाई नै रमाउन दिए । जीवन ढल्किए झै यात्रा पनि ढल्किदै गयो तथापि रमाइलो अनुभूति हुन सकेन । उनले यात्राभरि पछुतोले पिरोलिदै प्रसङ्गलाई पटक पटक दोहो¥याइरहदा मलाइ पनि पछुतोको भारी बोकेर यात्रा गरे झै महसुस भयो ।


सहकर्मी मित्रको भनाइ अनुसार, विद्यालय निरीक्षकको हैसियतले आफू सुर्खेतको एउटा विद्यालयमा करार शिक्षक छनौट गर्न जाँदा विद्यालय व्यवस्थापन समितिले अन्य दुई जना विशेषज्ञहरुलाई पनि बोलाएको थियो । सहमतिमै ती विशेषज्ञहरुले अलगअलग सेट प्रश्नपत्र निर्माण गरे । विडम्बना के भयो भने उनीहरुले अलग अलग प्रश्नपत्र बनाए पनि प्रश्नहरु भने एकैनासका भए । फरक यत्ति देखिन्थ्यो कि प्रश्नका क्रमहरु तलमाथि बनाइएको थियो । विद्यालय निरीक्षकलाई त्यहिबाटै उनिहरुप्रति शंका लाग्न थाल्यो ।

तथापि केही गर्न सकेनन् वा गर्न चाहेनन् पनि । आफ्नो हाकिमलाई सोधनी गर्दा निहु खोजेर तनाव व्यहोर्ने काममा नलाग्दै राम्रो होला भन्ने आसय बुझे । अन्ततः लिखित परीक्षाको नतीजा निकालियो । एकजना महिलाले अरु भन्दा धेरै फरक पारी उत्कृष्ठ अङ्क ल्याएर लिखित परीक्षा पास गरिन । अन्तर्वाता लिदा भने विद्यालय निरीक्षक मित्रलाई जानकारी भयो कि उक्त महिला त अरु भन्दा कमजोर रहिछिन् । अन्तीममा सवै अङ्क जोड्दा उक्त कमजोर महिला नै उत्तीर्ण भइन् भने अरु राम्रा भएपनि अनुत्तीर्ण भए । यसरी दुवै विशेषज्ञहरुले एउटा उम्मेदवारलाई उत्तीर्ण गराउन अनावश्यक हरकत गरेको जानकारी हुँदाहुदै पनि आफूले केही गर्न नसकेकोमा मेरा मित्रलाई आत्मग्लानी भयो र उक्त आत्मग्लानीको घाउ अहिले पनि बल्झिरहेको छ ।


बर्दियाको एउटा विद्यालयमा माथिको घटनामा जस्तै करार शिक्षक छनौटका लागि शिक्षकहरुबाट आएका विशेषज्ञहरुले सँगै बसेर बस्तुगत र विषयगत प्रश्नहरु बनाए । विद्यालय निरीक्षकले विशेषज्ञहरुले बनाएका बस्तुगत प्रश्नहरुलाई नै  प्रश्नहरु र तिनका विकल्पहरुको क्रम परिवर्तन गरेर प्रश्नपत्रलाई परिमार्जन गरी परीक्षा सञ्चालन गरे । परीक्षा सकिएपछि कोडिङ गरेर बस्तुगत परीक्षाको उत्तरपुस्तिका विद्यालय निरीक्षकले चेक गरे भने विषयगत परीक्षाको उत्तरपुस्तिका विशेषज्ञहरुले चेक गरे । नतीजा प्रकाशन हुँदा विशेषज्ञहरुले चाहेको जस्तो भएन । कारण के भएछ भन्दा विशेषज्ञहरुले आफूले चाहेको उम्मेदवारलाई बस्तुगत परीक्षाको यति नम्बरको ठीक विकल्प यति नम्बर भनेर घोकाएका रहेछन् । विद्यालय निरीक्षकले उक्त क्रमलाई तलमाथि बनाइदिएपछि विशेषज्ञहरुले चाहेको उम्मेदवारले बस्तुगत परीक्षाको बीस पूर्णाङ्कमा तीन–चार ल्याउन पनि सकेनछ । अरुले उसलार्ई उछिनेछन् । पास गराउने भनेर उसँग आर्थिक लेनदेन पनि भइसकेको रहेछ । त्यो सबै योजना असफल भएपछि विशेषज्ञहरु र तिनका मतियारहरुले विद्यालय निरीक्षकले आर्थिक चलखेल ग¥यो भनेर आरोप पनि लगाए । अन्तत ती सवै झुटो सावित भए र एउटा गतिलो उम्मेदवार उत्तीर्ण हुन सफल भयो ।


विशेषज्ञहरुबाट करार शिक्षक छनौटमा निष्पक्ष व्यवहार नभएपछि बर्दियाले नै विशेषज्ञ छनौट गर्दा गोला प्रथाबाट गर्ने कुरालाई अघि बढायो । यसै क्रममा एउटा स्कूलको करार शिक्षकको छनौट गर्नका लागि गोला प्रथाबाट विशेषज्ञहरु छनौट गरिए । छनौट भएका विशेषज्ञहरुलाई विद्यालय निरीक्षकले स्रोतकेन्द्रमा आमन्त्रण गरे । विशेषज्ञहरुको घरबाट स्रोतकेन्द्रमा बाइकमा आउदा ५ मिनेट पनि नलाग्ने दूरी थियो । तथापि उनीहरु २ घण्टा ढिलो गरी आए । यो बीचमा दुवै विशेषज्ञले कुनै निश्चित उम्मेदवारसँग आर्थिक प्रलोभनमा परी परीक्षामा सोधिने प्रश्नहरु फोनबाटै टिपाइदिए । अन्तत परीक्षा भयो । विद्यालय निरीक्षक, सम्बन्धित विद्यालयको प्र.अ. र विव्यस अध्यक्ष जिल्ल परे । सबैले राम्रो भनेको उम्मेदवार  भन्दा कमजोर उम्मेदवारले बाजी मार्न सफल भयो । विद्यालय निरीक्षक लगायतकाले नतीजा प्रकाशन भएपछि बुझे कि ढिला गरेको दुई घण्टामा बस्तुगत लगायत विषयगत प्रश्नहरु आवट गर्ने काम भएछ ।


यो पङ्तिकारले उल्लिखित दृष्टान्तहरु पस्कनुको अर्थ हामीले शिक्षामा अरु काम जे जस्तो गरेपनि शिक्षा र विद्यालयका लागि मियोको रुपमा काम गर्ने शिक्षकलाइ गतिलो किसिमबाट छनौट गर्नका लागि हाम्रा प्रयासहरु त्यति गतिला भएनन् कि भन्नेतिर सवैको ध्यान आकर्षित गर्नु हो । अन्य देशका अभ्यासहरु हेर्दा देशका क्रिम जनशक्तिलाई शिक्षण पेशामा प्रवेश गराउनका लागि आवश्यक व्यवस्था गरिएको पाइन्छ । शैक्षिक हिसावले विश्वमै उत्कृष्ठ देशको रुपमा नाम कमाएको फिनल्याण्डले विश्वविद्यालयबाट उत्कृष्ठ हुने गोल्ड मेडलिष्टहरुलाई शिक्षण पेशामा सोझै नियुक्ति गर्ने प्रवन्ध मिलाएको छ ।

जापानले शिक्षण पेशामा लाग्नेहरुलाई अन्य पेशामा भन्दा तीस प्रतिसत थप सुविधा दिने गरी राम्रा व्यक्तिहरुलाई शिक्षण पेशामा आकर्षित गर्ने प्रयास गरेकोे छ । विकसित देशहरुको शिक्षाप्रतिको यस प्रकारको चासो र प्राथमिकता देख्दा हामी त उनिहरु समान हुन सयौं वर्ष पर्खनु पर्छ जस्तो लाग्छ । हाम्रोमा शिक्षण पेशालाई मर्यादित हुन नदिनुमा अरु भन्दा शिक्षकहरुको नै बढि चलखेल हो कि जस्तो पनि लाग्छ ।


करार शिक्षकको नियुक्तिमा विशेषज्ञको भूमिका निर्वाह गर्नेहरु पनि शिक्षकहरु नै हुन्छन् । उनिहरुलाई नै करार शिक्षकको छनौट गर्नका लागि जिम्मेवारी सुम्पिदा देशले अगतिला मान्छेहरुलाई शिक्षकका नियुक्ति गर्न बाध्य छ । गाउ र टोलभरि शैक्षिक बेरोजगारहरु छन् तथापि विद्यालयमा करार शिक्षकको लागि विज्ञापन भयो भने दुई–चार वटा भन्दा बढि दरखास्त पर्दैनन् ।

सवैलाई के स्पष्ट छ भने त्यो पद कुनै प्रतिभावान र जेहेन्दार मानिसका निम्ति भन्दा पनि कुनै निश्चित फलानाका निम्ति हो । कतै शिक्षक पद खालि भयो भने जिल्ला शिक्षा कार्यालयले कुनै शिक्षकलाई सरुवा गरेर लैजानोस भन्दा पहिले देखि काम गरिरहेको त्यहीको एकजनालाई राख्ने सल्लाह भएको छ भनेर लाजै नमानी भन्छन् कतिपय विद्यालयका प्र.अ., विव्यस अध्यक्ष र अन्य यस्तैका हिमायतीहरु ।

परीक्षा कहिले हुने हो थाहा नभए पनि नतीजा भने पहिल्यै घोषणा गरेर बसेका हुन्छन् मानिसहरु । पूर्व घोषित नतीजालाई कसरी व्यवस्थापन गर्छन होला विशेषज्ञहरु ? गतिलालाई फेल गराएर अगतिलालाई उत्तीर्ण गराउदा मेरो सहकर्मी विद्यालय निरीक्षकलाई झै ती विशेषज्ञहरुको दिल दुख्छ होला कि दुख्दैन होला ? यस्तै नियतका विशेषज्ञहरु लोकसेवा आयोगतिर हुने भए कस्तो हुन्थ्यो होला, सार्वजनिक प्रशासनको हविगत ?


करार शिक्षकको नियुक्तिको ताल यस्तो छ । शिक्षा मन्त्रालयको निर्देशन हुन्छ, कार्यरत शिक्षकहरुलाई सकेसम्म विस्थापित नहुने गरी स्थायी शिक्षकको पदस्थापनको प्रवन्ध मिलाउनू । शिक्षकहरुको माग हुने गर्दछ, कार्यरतहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर । शिक्षक सेवा आयोगले कार्यतालिका बनाएर लोकसेवा आयोगले झै नियमित रुपमा विज्ञापन गर्न सकिरहेको छैन । यसै बीचमा शिक्षक महासङ्घले आक्रोस पोखेको छ – हामी शिक्षकलाई राजनीतिक दलको सदस्य हुनबाट बञ्चित नगरियोस् ।

शिक्षकहरुका अवधारणा र नियुक्तिको अवस्था एकातिर यस्ता छन् भने अर्कोतिर आदेशको भरमा व्यक्तिको नियुक्ति हुने क्षेत्रहरुभने आफूलाई राम्रो मानिसको खोजीमा समर्पित गरेका छन् । प्रहरी सेनामा समेत लिखित परीक्षामा न्यूनतम अङ्क ल्याउन नसकेका कारण विज्ञापित पदमा तोकिएको संख्या भन्दा कम व्यक्तिलाई उत्तीर्ण गरेर बाँकी संख्यामा नियुक्तिका लागि पुनः विज्ञापन गर्न थालिएको छ । संघसंस्थाहरुले समेत यो प्रक्रियालाई अनुसरण गरिरहेका छन् । देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्रमा भने विजोगको अवस्था छ । साँच्ची कहिले हुने होला यो बिजोगको अन्त ?


अव त सङ्घीय राज्यमा माध्यमिक तह सम्मको शिक्षालाई स्थानीय तहको जिम्मामा सुम्पिने कुरा उठिरहेको छ । त्यतिबेला स्थानीय तहको शिक्षाको क्षेत्रमा आवश्यक पर्ने बजेटको केही अंश केन्द्र सरकारले पनि प्रदान गर्ने प्रावधान राख्छ होला । त्यतिबेला बजेट प्रदान गर्ने आधारहरुमा प्रदेशको शैक्षिक उपलब्धिलाई प्रमुख रुपमा लिइन्छ होला । कति विद्यार्थीहरुलाई सेवा प्रवाह गरिरहेको छ भन्ने कुरा पनि हेरिन्छ होला । उत्पादित जनशक्ति प्राविधिक/अप्राविधिक एवम् रोजगार/बेरोजगार के छ त्यो पनि हेरिन्छ होला ।

शिक्षक नियुक्ति गर्ने यो पारा र यो पद्धतिले निरन्तरता पाइरह्यो भने केन्द्रले बजेट प्रदान गर्दा खुम्चिनु पर्ने स्थिति अवश्य सिर्जना हुनेछ । त्यसैले मानवस्रोत जस्तो अरु स्रोतलाई समेत परिचालन गर्ने जीवन्त स्रोत उत्पादन गर्ने क्षेत्रमा आवश्यक पर्नेे जनशक्तिलाई नियुक्ति गर्दा खेलाची र खेलबाड गर्ने कहालीलाग्दा कथाहरुको अन्त गर्ने हो कि ? अन्यथा विद्यार्थीहरु निजी क्षेत्रतिर लर्को लाग्दैछन् र सरकारी शिक्षण संस्थाहरु क्रमशः रित्तिदै छन् । यदि यही क्रम जारी रहने हो भने पेन्सन खाने शिक्षक त भेटिएलान तर वहालवाला शिक्षक भेट्न साँच्चिकै गाहे गाहे पर्छ होला । सवैलाई चेतना भया ।

 

jbshah072@gmail.com

 

Comments: