रौतहट । चन्द्रपुर नगरपालिकाको नक्कली लेटरप्याड, किर्ते दस्तखत र छाप किर्ते गरी यहाँको एक विद्यालयका प्रधानाध्यापकले राष्ट्रिय बाणिज्य बैंकबाट भवन निर्माणको रकम निकालेको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

सोही नगरपालिकाको वडा नं. ५ राजपैडास्थित श्रीआधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले भवन निर्माणका लागि आएको रकमबाट २० लाख रुपैयाँ अपचलन गरेको खुलेको थियो । त्यसबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान थालेको हो ।

प्रधानाध्यापक चौधरीले नगरपालिकाको नक्कली लेटरपयाट, छाप, चलानी नम्बर र किर्ते हस्ताक्षर दुरुपयोग गरी रकम अपचलन गरेको विषयमा अनुसन्धान अघि बढाइएको डीएसपी राजकुमार राईले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापकले किर्ते गरेको भनिएका सबै कागजातहरु प्रहरीले झिकाइसकेको छ । नगरपालिकाले प्रधानाध्यापक चौधरीको सम्बन्धमा थप अनुसन्धान कारबाहीको लागि लेखी पठाएपछि प्रहरीले शुक्रबार मुद्दा दर्ता गरेर प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

चार कोठे विद्यालय भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानको रुपमा नगरपालिकालाई ५० लाख रुपैयाँ दिएको थियो । भवन निर्माणको कामको भुक्तानी विद्यालयबाट हुने गरी नगरपालिकाले ब्यवस्था मिलाएको थियो ।

प्रधानाध्यापकले रकम हिनामिना गर्ने आशंकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बैंकलाई पत्र पठाई सबै रकम रोक्का राखेका थिए । उक्त भवन निर्माणको ठेक्का चन्द्रपुर–१ स्थित ब्रम्हबाबा कन्स्ट्रक्सनले लिएको थियो । उसले ०८० असार २० गते सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।

गएको असारको पहिलो साता निर्माणको काम सम्पन्न भइसकेको छ । भवन निर्माणको रकम निर्माण ब्यवसायीलाई भुक्तानी गर्नुको बदला प्रधानाध्यापक चौधरीले ०८० पौष १८ गते २० लाख निकालेर निजी प्रयोजनमा खर्च गरेको नगरपालिकाले फेला पारेको छ ।

निर्माण कार्यको रनिङ बिलको रकम दुई पटक भुक्तानी गर्दा कट्टा भएको मूल्य अभिवृद्धि कर ३ लाख ३८ हजार ४ सय ७३ रुपैयाँ समेत आन्तरिक राजश्व कार्यालयमा जम्मा नगरी चौधरीले अपचलन गरेको नगरपालिकाले जनाएको छ । प्रधानाध्यापक चौधरीले भने नगरपालिकाले नै फुकुवा गरेपछि आफूले रकम निकालेको दाबी गरेका छन् ।

शिव पुरीले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्