काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरूप्रति अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
पाठ्यपुस्तकमा रहेका त्रुटिहरू आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सच्याउनुपर्ने माग गरिएको अनेरास्ववियु काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाले बताए ।
विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजारभन्दा बढी विद्यार्थीलाई गलत पुस्तक पढाउने गरेको आरोप अनेरास्ववियुको छ । देशभरका ३५ हजार ६७४ भन्दा बदी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर, राज्यको लगानीमाथि समेत गम्भीर घात गरेको अनेरास्ववियुको भनाइ छ । पाठ्यपुस्तकमा त्रुटि गर्नेमाथि कारबाही गर्न समेत माग गरेको छ ।
कक्षा १० को पाठ्यपुस्तकमा हालसम्म पनि २०६८ सालकै जनगणना अनुसारकै तथ्यांक राखिएको छ । जबकि २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न भएको थियो ।महानिर्देशक श्रेष्ठले पाठ्यपुस्तकहरूमा कमजोरी देखिएको स्वीकार गर्दै शैक्षिक सत्र २०८२ देखि नै लागू हुनेगरी सच्याउने प्रतिबद्धता जनाए ।