धनकुटा । धनकुटा नगरपालिका–७ स्थित मदनचोकनजिक रहेको हाम्रो बहुमुखी पाठशालामा सोमबार बिहान आगलागी भएको छ ।

बिहान २ बजेदेखि सुरु भएको आगलागीले भवनमा रहेको सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि पाठशालामा रहेको सम्पूर्ण सामग्री जलेको छ । नृत्य, कला प्रशिक्षण दिने सो पाठशालामा एक होटलसमेत सञ्चालनमा थियो ।

आगलागीबाट करिब ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । वास्तविक कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीको भनाइ छ । घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले तत्काल राहत उपलब्ध गराइने बताए ।

बजारको मुख्य चोकमा भएको घटनाबाट अन्य आसपासका घर भने सुरक्षित भएका छन् । प्रत्यक्षदर्शी कञ्चनजंघा होटलका सञ्चालक गोरखबहादुर कटुवालका अनुसार बिहान सवा दुई बजेको समयमा पाठशालाको अग्रभागबाट आगो लागेको थियो ।

प्रदेश नं.१ का प्रदेशसभा सदस्य निरन राईले आगलागीबाट कला र संस्कृतिको क्षेत्रमा नोक्सानी भएको बताए । उक्त पाठशाला जिल्लाकै नमुना प्रशिक्षण केन्द्रको रुपमा स्थापित थियो । हाल २ सय बढी स्थानीय कलाकार त्यस संस्थामा क्रियाशील रहेको सञ्चालक सरोज भुजेलले बताए ।

रमेशचन्द्र अधिकारीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्