ललितपुर । कोरोना महामारीको समयमा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने भन्ने विषयमा शिक्षकहरूको लागि भर्चुअल माध्यमबाट कार्यशाला गोष्ठी सुरु भएको छ । ललितपुर महानगरपालिकाको शिक्षा शाखा र नेपाल शिक्षक महासङ्घ ललितपुर महानगर समितिको आयोजनामा भएको कार्यशालामा आधारभूत र माध्यमिक तहका शिक्षक शिक्षिकालाई आधारभूत कम्प्यूटर र इन्फरमेसन कम्यूनिकेसन टेक्नोलोजी आइसीटीका विषयमा जानकारी गराइएको छ ।

यही भदौ १५ गतेसम्म सञ्चालन हुने कार्यशालाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गदै हालको अप्ठ्यारो परिस्थितिमा पनि शिक्षक शिक्षिकाहरूले सिक्ने सिकाउने प्रक्रियामा देखाएको रुचि धेरै राम्रो भएको जानकारी दिनभयो । उहाँले विद्यालयमा पठनपाठनलाई व्यवस्थापन गर्न र शिक्षणलाई अगाडि बढाउन ललितपुर महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो । कार्यशालामा शिक्षण प्रक्रियामा आधुनिक प्रविधिहरूको प्रयोगको बारेमा जानकारी र अभ्यास गराइने शिक्षक महासङ्घ ललितपुर महानगर समितिका अध्यक्ष राजेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले कोरोनाका कारणले बिथोलिएको शिक्षण क्रियाकलापलाई भर्चुअल माध्यमबाट सुचारु गर्नलाई सहयोग पुग्ने बताउनुभयो । कोरोना महामारीका कारण विद्यालय खुल्न नसकेको अवस्थामा विद्यार्थीहरूलाई पठनपाठनमा अनलाइनमार्फत सहभागी गराउने उद्देश्यले शिक्षकहरूका लागि कार्यशाला आयोजना गरिएको तिमल्सिनाको जानकारी दिनुभयो ।

उहाँले शिक्षक शिक्षिकाले आधारभूत कम्प्यूटर र आइसीटीका विषयमा जानकारी हासिल गरेपछि विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्न सहज हुने पनि प्रष्ट पार्नुभयो । कार्यशालामा ललितपुर महानगरभित्रका ४० वटा सामुदायिक विद्यालयका ३४० जनाभन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको छ ।

यलु जोशीले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्