काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ। शिक्षामन्त्री रघुजी पन्तले आज वार्तामा बोलाएपछि शिक्षक महासंघका पदाधिकारी वार्ताका लागि मन्त्रालय पुगेका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ जना वार्तामा सहभागी हुँदैछन्। महासंघको नेतृत्वमा सबै शिक्षक संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी हुन लागेका एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएको थियो । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री पन्त आफैँ सहभागी हुँदैछन् । सर्वोच्च अदालतले बुधबार तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन निर्देशन दिएको थियो।
शिक्षामन्त्री पन्तले संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका थिए । निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताएका थिए। संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने सीमाभित्र रहेर समाधान खोज्न तयार रहेको जनाएका थिए ।
शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।