काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को हाताभित्र रहेका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयलाई सरकारले स्थानान्तरण गर्ने भएको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले दुवै विद्यालयलाई तत्काल उपयुक्त ठाउँमा स्थानान्तरण गर्न व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालमन्दिरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गर्ने निर्णयमा उल्लेख छ । आदर्श विद्यालय बालमन्दिरको संरक्षणमा रहेका अनाथ–असहाय बालबालिकालाई पढाउन ०२४ कात्तिक २८ गते स्थापना गरिएको हो । बालमन्दिरको पूर्ण खर्च र रेखदेखमा कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरिएको थियो । ०४० भदौ २७ गते बालमन्दिरले ३ रोपनी जग्गामा विद्यालयलाई छुट्टै भवन बनाइदिएर भोगचलन गर्न दिएको थियो । उक्त विद्यालयमा अहिले १ सय ३० विद्यार्थी र १२ जना शिक्षक–कर्मचारी छन् ।

यसै गरी बहिरा विद्यालयले २०२३ सालदेखि बालमन्दिरको करिब ७ रोपनी जग्गा भोगचलन गर्दै आएको छ । बालमन्दिरको स्वामित्वमा रहेका जग्गा र सम्पत्ति (अन्य जिल्लाका समेत)को अद्यावधिक अभिलेख तयार गर्ने मन्त्रिपरिषद्को निर्णय छ । सम्पूर्ण जग्गा संरक्षण गरी बालबालिकाका लागि आवास निर्माण तथा अन्य पूर्वाधार एवं संरचना विकासका लागि गुरुयोजना बनाइने जनाइएको छ ।

बालमन्दिरकी अध्यक्ष विद्या न्यौपानेले बालमन्दिरको जग्गा फिर्ता गर्ने योजनाअनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताइन् । ‘बालसंगठनको चल–अचल सम्पत्ति जुन नीतिले जसरी उपभोग गरिरहेको भए पनि विकल्पसहित बालमन्दिरकै नाममा ल्याउने दीर्घकालीन योजना हो,’ उनले भनिन्, ‘यसै गरी देशैभरका जग्गा फिर्ता ल्याउँछौं ।’

विद्या राईले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्