काठमाडौं । महेश संस्कृत गुरुकुलम् एवं रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा बुधबार काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा उपत्यकाव्यापी माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । महेश संन्यास आश्रमका पीठाधीश्वर श्री १००८ स्वामी रमणानन्द गिरिको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

गुरुकुलम्का संस्थापक ब्रह्मलीन श्री १००८ डा.स्वामी रामानन्द गिरिको पञ्चम स्मृति दिवस २०७९ को अवसरमा आयोजित उक्त कार्यक्रममा महेश संस्कृत गुरुकुलम्का प्राचार्य उप.प्रा.फणीन्द्रप्रसाद पौडेल, महेश संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य उप.प्रा.कमल सुवेदी ब्रह्मचारी ईश्वरानन्द लगायत गुरुकुलका अध्यापक विद्यार्थी, सहयोगी, पूर्वछात्रहरूको उपस्थिति थियो । साथै वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, प्रा.डा. नूरापति पोखरेल, उप.प्रा.डा. वैकुण्ठ घिमिरे, सह. प्रा.डा. नवराज कट्टेल, प्रा.डा. महादेव अवस्थी, महेश छात्र परिषद्का अध्यक्ष एवं उप.प्रा.उमेश घिमिरे, उप.प्रा. रोहिणीराज तिमिल्सिना लगायत विभिन्न विद्यालय एवं विश्वविद्यालयका विद्वान् विदुषीहरू अतिथिका रूपमा उपस्थित थिए ।


असल नागरिक निर्माणमा नैतिक शिक्षाको भूमिका शीर्षक वक्तृत्वकला प्रतियोगितामा उपत्यकाभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय गरी ४६ विद्यालयका प्रतियोगीहरू सहभागी थिए भने कार्यक्रममा सह. प्रा.प्रभा भट्टराई, सह प्रा.डा.मुकुन्द लामिछाने र सह प्रा.डा.लेखप्रसाद निरौला निर्णायकको भूमिकामा रहेका थिए ।

प्रतियोगितामा सरस्वती एकेडेमी, चावहिलका छात्रा आयुषा सापकोटा प्रथम, रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसवारीका छात्र सुतृष्ण पौडेल द्वितीय, नेपाल वेद विद्याश्रम वनकालीका छात्र अन्जन ढुङ्गेल तृतीय, टाइमलाइन एकेडेमी, जोरपाटीका छात्रा प्रशन्ना पुडासैनी र सैनिक आवासीय महाविद्यालय, भक्तपुरका छात्रा कृशा पोखरेल सान्त्वना भएका छन् ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरुङले नैतिक शिक्षाको अभावमा समाजमा वेतिथि मौलाएको र देशको आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष धराशायी बन्दै गएको र हामीले श्रीरामचन्द्र, गार्गी, याज्ञवल्क्य, मैत्रेयी आदि प्राचीन आर्ष आचार्यहरूको आदर्श भुल्न नहुने कुरा व्यक्त गरेका छन् । नैतिक शिक्षाको प्रचार प्रसार एवं नैतिकवान्, आदर्शवान् र सच्चरित्रवान् व्यक्तित्व निर्माणको कार्यमा ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिको अतुलनीय योगदान रहेको प्रष्ट पारेका छन् ।

कार्यक्रमको समापनका क्रममा बोल्दै संस्थाका पीठाधीश रमणानन्द गिरिले नैतिक शिक्षाको स्थापनाका लागि सम्पूर्ण विद्यालयका शिक्षक शिक्षिकाहरूलाई आ–आफ्नो ठाउँबाट जुट्न आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्