
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ। मंगलबार बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए। उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइरहेको जानकारी दिए। मतदान अपराह्न दिउँसो चार बजेसम्म चल्ने छ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने अधिकारीले बताए। त्रिविले प्रत्येक दुईदुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ। निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्।
स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन। एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ।यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका हुन्।
सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ। आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने जनाएको छ।