काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाए । त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उनले बताए । विश्वविद्यालयले छिट्टै साइबर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, ‘माउन्टेन टुरिज्म’ र ‘माउन्टेन साइन्स’ जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने उनले घोषणा गरे ।

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमानसमेत बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा १२ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

प्रतिकृया दिनुहोस्