सल्यान । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत ९८ जना शिक्षकले एक वर्षदेखि तलब पाएका छैनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षण सिकाइ सहयोग अनुदानबाट भर्ना गरिएका शिक्षक तलबबाट वञ्चित भएका हुन् ।

मन्त्रालयले शून्य तथा एक मात्र दरबन्दी भएका सामुदायिक विद्यालयलाई अनुदान दिँदै आएको छ । तर लामो समयदेखि अनुदान नपठाउँदा मावि तहका २९, निमाविका ६० र प्राथमिक तहका ९ शिक्षक तलबबाट वञ्चित भएका हुन् । तलब नपाउँदा जीविकोपार्जनमा समस्या भएको बन्गाडकुपिण्डे नगरपालिका–८ स्थित जनज्योति माविका शिक्षक ओमप्रकाश बुढाथोकीले बताए ।

‘पटकपटक तलबका लागि ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भयो,’ उनले भने, ‘विद्यार्थीको भविष्य अन्योलमा पर्छ कि भनेर जागिर नछाड्दा आफ्नै भविश्य अन्योलमा पर्‍यो ।’ लामो समयदेखि तलब नपाउँदा आफन्त र छिमेकीसँग सरसापटी गरेर घरखर्च चलाउनु परेको उनको गुनासो छ ।

जागिरको स्थायित्व नहुँदा र लामो समयदेखि तलब नपाउँदा समस्यामा परेको शारदा आधारभूत विद्यालय, केउरेनीका शिक्षक चन्द्रबहादुर विसीले बताए ।‘कोरोना महामारीले अन्य ठाउँमा पनि जागिर पाउन मुस्किल छ,’ उनले भने, ‘त्यसैले तलब नपाए पनि विद्यालय छोड्न सकिएको छैन ।’

बेतलबी बनेका शिक्षकहरु तलब माग्दै अहिले सदरमुकाम आएका छन् । मन्त्रालयले तलबबारे निर्णय नगर्दा जिल्लाभरिका शिक्षक मर्कामा परेको शिक्षण सहयोग अनुदान संघर्ष समितिका संयोजक दिपेन्द्रप्रकाश ओलीले बताए ।

उनका अनुसार तलब नपाएपछि सबै शिक्षक शिक्षा विकास तथा समन्वय इकाईमा ‘डेलिकेसन’ मा आएका हुन् । इकाई प्रमुख लालबहादुर घर्तीले तलब रोकिएकोबारे मन्त्रालयले कुनै जानकारी नदिएको बताए । उनले शिक्षकको तलबका लागि मन्त्रालयमा अनुरोध गरी पठाएको जानकारी दिए ।

विप्लव महर्जनले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्