गाईघाट । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा मृत्यु हुनुभएका उदयपुरका शिक्षकको शुक्रबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कमिटीका सञ्चार संयोजक माधवप्रसाद घिमिरेले त्रियुगा नगरपालिका वडा नं ४ का ५२ वर्षीय शिक्षकको मृत्युपछि कोरोना भाइरस सङ्क्रमण भएकाे पुष्टि गर्नुभएको हो ।

कोरोना भाइरसबाट मृत्यु भएको यो उदयपुरको पहिलो घटना हो । यद्यपि जिल्लाभित्रै वा अन्यत्र उहाँमा कोरोना सङ्क्रमण भएको भन्नेमा पुष्टि हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार उहाँको पीसीआर उदयपुरमा नगरिएकाले काठमाडौँमै यसको तथ्याङ्क रहनेछ । निमोनियाको आशङ्कामा भदौ ९ गते राति ११ बजे अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँको मृत्यु भएको घोषणा गरेका थिए ।

गत साउन २८ गतेदेखि उहाँ बिरामी भएको र ज्वरोको लक्षण देखापरेपछि भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा उपचारका लागि लगिएकोमा त्यहाँ सामान्य उपचारपछि उहाँलाई घर फर्काइएको पारिवारिक श्रोतले जनाएको छ ।

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि र अस्पतालको औषधिले पनि निकाे नभएपछि निमोनियाको आशङ्कामा त्रियुगा नगरपालिका वडा नं ३ स्थित राजेश हेल्थकेयर सेन्टर प्राली मोतिगडामा भदौ ४ गते उहाँको स्वास्थ्य परीक्षणका लागि रगत दिइएको र ६ गते भर्ना भई उपचारसमेत गरिएको परिवारले जनाएको छ । तीन दिनसम्म पनि उपचार गर्दा ठिक नभएपछि परिवारले भदौ ८ गते राति थप उपचारका लागि काठमाडौँ लगेकाे हो ।

लकडाउनकै बीचमा लिम्चुङ्गबुङ्ग गाउँपालिका १ स्थित आधारभूत प्राथामिक विद्यालय बाँस्बोटेबाट सरुवा भई आउनुभएका उहाँ साउन २७ गते त्रियुगा नपा-७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर हुनुभएको थियो । यता प्रहरीले शुक्रबार उहाँको उपचार गरिएको हेल्थकेयर सिल गरिसकेको छ ।

भक्तिविलास पौखरेलले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्