रुकुम पश्चिम । डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ स्थित तेन्जिङ नोर्के आधारभूत विद्यालयमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको झडपमा वडाध्यक्ष छेवाङ गुरुङसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपमा वडाध्यक्षका छोरा ३५ वर्षीय गुरु गुरुङ, ६० वर्षीया निमाछिरिङ घर्ती, २७ वर्षीय लारकर रोकाय र ३३ वर्षकी लामजुङ गुरुङ रोकाय घाइते भएका छन् । त्यस्तै ३५ वर्षीय लालमान रोकाय, ४० वर्षीया सेराप गुरुङ र २२ वर्षीया सीता गुरुङ पनि घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए । उनका अनुसार अधिकांशको टाउको, हात र खुट्टामा चोट लागे पनि सबैको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार विद्यालयमा भइरहेको छलफलमा आपसमा विवाद बढ्दै गएपछि वडाध्यक्ष पक्षधर र वडा सदस्य खुमचुङ रोकाय पक्षबीच ढुंगा हानाहान भएको हो । खुमचुङ छार्कातासोङ गाउँपालिकाका न्यायिक समिति सदस्यसमेत हुन् । घाइतेमध्ये वडाध्यक्ष छेवाङ र उनका छोरा गुरु उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । अरुको घाउ जाँच गरिएको र अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

तर घाइते लामजुङ गुरुङ रोकायले भने आफूमाथि गाउँपालिका अध्यक्ष सेनाङ गुरुङलगायतले कुटपिट गरेको बताएकी छिन् । जिल्ला अस्पतालमा उपचारपछि उनको टाउकोमा एउटा टाँका लगाइएको छ । ५ महिनाकी सुत्केरी महिलामाथि अध्यक्षले कुटपिट गरेकाले कारबाही हुनुपर्ने उनको माग छ ।

गाउँपालिका अध्यक्ष गुरुङले भने आफूमाथि गलत आरोप लगाइएको बताए । विद्यालयमा छलफल भइरहेको ठाउँमा आफू पुग्नुअघि नै ढुंगा हानाहान भएको उनको दाबी छ । ‘महिलामाथि मैले आक्रमण गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘यदि त्यसो हो भने पनि कुनै प्रमाण भेटिएला नि १’ उनले घटनाप्रति दु:ख लागेको बताए । विद्यालयको भेलामा गाउँपालिकाको विकास निर्माण विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।

हरि गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्