मोरङ । विराटनगरको विराट क्याम्पसले आफ्नो सम्पत्ति मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ। बुधबार विराटनगर–१४ स्थित विराट क्याम्पसले आफ्नो सम्पत्ति र दायित्व विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच क्याम्पसका अध्यक्ष भूराज राईले करिब ४० करोड बराबरको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गरे। स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको उचाइलाई कायम राख्नेगरी काम गर्ने बताए।

सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरी विश्वविद्यालले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए। उनले विराट क्याम्पस विश्वविद्यालयको सवैभन्दा ठूलो दाता भएको बताए।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र सुरू गर्ने मन्त्री घिमिरेले बताए। सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका तालिम विराट क्याम्पसको भवनबाट सुरू गर्ने मन्त्री घिमिरेले बताए।

चुमन बस्नेतले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्