तिलिङ्गाटार माविको तरक्कीः विद्यार्थीको दैलोमा स्कूलबस, होस्टेल र लिफ्टसहितको भवन

स्थापनाको ६२ औं वर्षगाँठ, उपलब्धिका खात !

Avatar photo

Byएजुकेशन पाटी

१३ पुष २०८०, शुक्रबार


काठमाडौं । धापासीस्थित तिलिङ्गाटार माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६२ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ । विद्यालयले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी ६२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सवकै अवसरमा प्रमुख अतिथि एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईद्वारा विद्यालयमा नवनिर्मित ६ तले लिफ्टसहितको अत्याधुनिक भवन, होस्टल भवन, सभाहल लगायतको उद्घाटनसमेत गरिएको थियो । अत्याधुनिक भवनमा सरसफाइ, स्मार्टबोर्डसहितको कक्षा व्यवस्थापनदेखि आइसिटी/साइन्स ल्याव, लाइब्रेरीलगायतको सुविधा रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री अशोककुमार राईले सामुदायिक विद्यालयलाई सबल बनाउने, सुदृढ बनाउने तथा मुलुकको शिक्षाको लगानीलाई प्रतिफल दिने ठाउँसम्म पुर्याउन मन्त्रालय क्रियाशील रहेको बताए । यिनै उद्देश्य पूरा गर्नेगरी विद्यालय शिक्षा ऐन प्रस्ताव गरिएको पनि मन्त्री राईले स्पष्ट पारे । सार्वजनिक शिक्षा र शिक्षालयहरु विस्तारै समय सापेक्ष, प्रविधिमैत्री र स्तरीय बन्दै गइरहेका भन्दै उनले भौतिक पूर्वाधारसँगै अब विद्यालयहरु शिक्षण सिकाइ सुधारमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । सक्षम र योग्य शिक्षकबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव रहेकोमा उनको जोड थियो ।

प्रतावित शिक्षा ऐनमा शिक्षक र विद्यालय कर्मचारीका अधिकार र सुविधाको व्यवस्थाको प्रस्ताव गरिएको पनि उनले स्पष्ट पारे । शिक्षकहरुले पटक पटक सडक आन्दोलन गर्न नपर्ने तथा कक्षाकोठाको शिक्षण सिकाइमा मात्रै केन्द्रित बनाउने गरी प्रस्तावित शिक्षा ऐनमा व्यवस्था गरिएको उनले बताए । शिक्षक कर्मचारीका हरेक मागमा सरकार सकारात्मक रहेको समेत मन्त्री राईले स्पष्ट पारे । प्रस्तावित शिक्षा ऐन संसदबाट पारित भएमा शिक्षा र शिक्षक कर्मचारीमा रहेका सबै समस्या समाधान गर्दै सार्वजनिक शिक्षा सुधारको मार्गचित्र खडा गर्ने उनको भनाइ थियो ।

शिक्षा क्षेत्रमा पर्याप्त बजेट नछुट्टिँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र दिवा खाजा कार्यक्रम कटौती गर्नु भएको गुनासो गर्दै मन्त्री राईले तिलिङ्गाटार विद्यालयको उन्ययनका लागि आफूले गर्न सक्ने, गर्न मिल्ने सबै काम गर्ने प्रतिवद्धता जनाए ।

टोखा नगरपालिकाका प्रशासकीय प्रमुख शेरबहादुर विसीले पूर्वाधारको उचित विकास र गुणस्तरीय शिक्षाले मात्रै सार्वजनिक विद्यालयको सुधार हुने बताए । पूर्वाधारले शैक्षिक वातावरणलाई सहजीकरण र सुदृढीकरण गर्ने साथै शिक्षाको गुणस्तरले विद्यालयलाई खास बनाउने उनको भनाइ थियो । नगरपालिकाले सार्वजनिक शिक्षाको विकासका लागि विद्यालयहरुमा प्रविधिमैत्री सिकाइ, मेयर दिवा खाजा, निजी र सार्वजनिक शिक्षाको समान गुणस्तर वृद्धिका लागि मापदण्ड निर्माणलगायत काम गरेको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले विद्यालय निरन्तर गुणस्तरीय, प्राविधिक र जीवनउपयोगी शिक्षा दिन क्रियाशील रहेको बताए । विद्यालयले ९–१२ मा प्राविधिक धारको शिक्षा सञ्चालन गर्न चाहेको भन्दै उनले शिक्षामन्त्रीसँग अनुमतिका लागि अनुरोध समेत गरे ।

विद्यालय दुई ब्लकमा सञ्चालन हुँदै आएको छ । पहिलो मावि ब्लकमा इसिडि र कक्षा ९–१२ तथा दोस्रो अत्याधुनिक लिफ्ट सहितको ६ तले भवन भएको ब्लकमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरु अध्ययन गर्ने प्रअ पाण्डेले जानकारी दिए । विद्यालयमा सिटिइभिटिको आइसिटी एवं सिभिल डिप्लोमाकोसमेत सञ्चालन हुँदै आएको उनले जानकारी दिए । पाण्डेकाअनुसार यसैवर्ष देखि मावि ब्लकमा गतिशील सामुदायिक क्याम्पससमेत सञ्चालन हुन थालेको छ ।

विद्यालयमा कक्षा १–१० सम्म पूर्ण निशुल्क अध्यापन हुँदै आएको र कक्षा १–५ संघीय सरकार र कक्षा ६–१० मा स्थानीय तहको सहयोगमा निःशुल्क दिवा खाजाको व्यवस्था हुँदै आएको प्रअ पाण्डेले बताए ।

वि.सं. २०१७ सालमा अनौपचारिक र २०१९ साल बैशाख १९ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयले २०५३ पुस १३ गते माध्यमिक तहको स्वीकृति पाएपछि सोही पुस १३ मा वार्षिकोत्सव मनाउँदै आएको छ । २०१७ सालमा स्व. लालबहादुर रानामगर, स्व.केदारबहादुर बस्नेत,  स्व. थिरबहादुर बस्नेतलगायतले विद्यालय स्थापना गरेका थिए । विद्यालयले स्रोत व्यवस्थापनका लागि ३ पटक महायज्ञ सञ्चालन गरिसकेको विद्यालयमा हाल १६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरोत्तम रानाले भौतिक पूर्वाधारको विकास गरिसकेकाले विद्यालय अब गुणस्तरीय, प्राविधिक एवं जीवनोपयोगी शिक्षाको विकासमा केन्द्रीत हुने बताए । ६ तले विद्यालय भवनलाई अपाङ्गमैत्री, विद्यार्थीमैत्री बनाउन लिफ्त जडान गरिएको स्पष्ट पार्दै नगरवासीदलाई सामुदायिक विद्यालयमै छोराछोरी पढाउन आग्रह गरे ।

विद्यालयका संस्थापक स्वं लालबहादुर रानामगरको शालिकमा माल्यार्पण गरेर शुरु भएको कार्यक्रममा शिक्षक एवं विद्यार्थीहरुले विभिन्न सांस्कृतिक एवं खेलकुदका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यक्रममा दयानिधि दाहालले गतिशील बहुमुखी क्याम्पसमा दुईलाख रुपैयाँ बराबरको अक्षयकोष निर्माणका लागिे सहयोग गरेका थिए ।

त्यसैगरी शिक्षकहरु नविन रोस्यारा, बिमला रिमाल, दिवाकर जोशी लगायतलाई सम्मान एवं शिक्षकहरु सुशीला धमला, रामकृष्ण थापालगायतलाई बिदाइ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्