दोलखा । कोरोनाको महामारीका कारण ७ महिनादेखि ठप्प रहेको मुलुकको शैक्षिक क्षेत्र कसरी सुचारु गराउने भन्ने विषयमा केन्द्र सरकार आफैं निर्णय गर्न नसकिरहेका बेला दोलखाका स्थानीय तहहरुले भने सुरक्षा मापदण्ड अपनाएर विद्यालयहरु खुलाउन थालेका छन् ।

जिल्लाको तामाकोसी गाउँपालिकाको आइबार सम्पन्न कार्यपालिका बैठकले पालिका भित्र हाल सम्म कोरोनाको संक्रमण नदेखिएकोले सबै माध्यामिक विद्यालयहरुमा असोज १ गतेबाट स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउँदै कक्षाकोठा भित्रै दुरी कायम गरेर ६ देखि १२ कक्षा सम्मको पढाई सुचारु गर्ने निर्णय गरेको छ।

कार्यपालिका बैठकले गाउँघरमा पढाई नहुँदा बालबालिकामा मनोबैज्ञानिक असर पर्न थालेको भन्दै कोरोनाका कारण सात महिनादेखि ठप्प रहेको शैक्षिक क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो। ‘शिक्षा क्षेत्र बन्द हुँदा बालबालिका र समाजमा बढ्दै गएको मनोवैज्ञानिक असरले विकराल रुप लिने खतरा देखेपछि अब विद्यालय खुलाउनुपर्छ भनेर पालिकाको बैठकले यस्तो निर्णय लिएको हो’ गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले  भने – ‘गाउँमा कोरोना संक्रमण अहिले सम्म देखिएको छैन, नदेखिन र देखिईहाले रोकथामका लागी सबै खालका उपाय अवलम्बन गर्दै विद्यालयमा समेत ६ कक्षा देखी माथिका बिद्यार्थीलाई सतर्कता अपनाउदै पढाई सुचारु गरिनेछ।’

पोखरेलका अनुसार गाउँपालिका भित्र ६ कक्षादेखि १२ सम्म पढाई हुने १५ वटा माध्यामिक तहका विद्यालय छन्। कार्यपालिका बैठकले विद्यालय खोल्दा जोर रोल नं भएका विद्यार्थीलाई जोर दिनमा र बिजोर रोल नं भएका बिद्यार्थीलाई बिजोर दिनमा विद्यालय बोलाएर एउटा डेस्क बेञ्चमा एक जना मात्र विद्यार्थी राख्ने नियम बनाएको छ। त्यसरी विद्यार्थी राख्दा प्रत्येक डेस्क बेञ्चमा क्रस बनाएर राख्नुपर्नेछ।

पोखरेलका अनुसार विद्यार्थीलाई बिद्यालय प्रवेश गर्नु अघि र कक्षा कोठामा बस्दा मास्क अनिवार्य गरिएको छ। प्रत्येक कक्षाकोठा बाहिर र विद्यालयको मुल प्रवेशद्धार बाहिर हात धुने साबुन र पानी अनिवार्य गरिएको छ। पालिका भित्रका शिक्षक र सरोकारवाला संग छलफल गरेरै यो निर्णय गरेको पोखरेलले सुनाए।

१ कक्षादेखि ५ कक्षा सम्म्मको आधारभुत तहका विद्यार्थीहरुको हकमा भने शिक्षकहरुलाई सुरक्षा सतर्कता अपनाएर बस्ती सम्म बालबालिकाहरुलाई भेटघाट गर्न उत्प्रेरणासहित विद्यालयको वातावरण दिलाउने गरी शिक्षकहरुलाई बिद्यार्थीहरुको घरमा पठाईनेछ। ‘अहिले तुरुन्तै उनीहरुलाई विद्यालयमा बोलाउँदा ठुला उमेरका विद्यार्थी जस्तो सतर्कता अपनाउनलाई गाह्रो हुन सक्छ’ अध्यक्ष पोखरेलले भने – ‘त्यसैले साना नानीहरुलाई विद्यालयको वातावरण सम्झाएर उत्प्रेरणा जगाउने गरी आधारभुत तहका शिक्षकहरुलाई घर घरमा पठाउदैछौं।’ उनले आधारभुत तहका त्यस्ता साना विद्यार्थीहरुको समेत सुरुको चरणमा टोलमै पुगेर अध्यापन गराउनेदेखि विस्तारै विद्यालयकै पढाई सुचारु गर्दै लगिने योजनामा गाउँपालिका रहेको सुनाए।

तामाकोसीसंगै जिल्लाको शैलुङ गाउँपालिकाले समेत पढाई सुचारु गराउने निर्णय गरेको छ। गाउँपालिकाले असोज १ गतेबाट सुरक्षात्मक उपाय अवलम्बन गर्दै पालिका भित्रका सबै सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने अनुमति दिएको छ। पालिकाको शिक्षा शाखाले शुक्रबार सुचना जारी गर्दै गाउँपालिका भित्र जोखिम नदेखिएका कारण बिद्यालय खोल्न भनिएको हो। जिल्लाका अन्य स्थानिय तहहरुले समेत असोज १ गतेबाट बिद्यालय खुलाउने तयारी गरेका छन्।

रमेश खतिवडाले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्