तनहूँ । विद्यालयमा भएका क्वारेन्टाइन र आइसोलेशन तत्काल हटाएर पठन–पाठन सुचारु गर्ने तयारीमा जिल्लाका सरोकारवालाहरु जुटेका छन् ।

सोमबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षता र प्रजिअ बद्रिनाथ अधिकारीको उपस्थितिमा बसेको जिल्लाका सरोकारवासहितको बैठकले विद्यालय सञ्चालनको तयारीमा जुट्ने निर्णय गरेको हो ।

बैठकमा जिल्लाका स्थानीयतहका प्रमुखहरु, स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, शिक्षक महासंघका प्रमुख, प्याब्सन, एन प्याब्सनसहितको सहभागिता रहेको थियो । कोभिड–१९ ले ल्याएको असहज अवस्थामा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिने सम्वन्धमा बैठकमा छलफल भएको थियो ।

सरोकारवालाहरुको उक्त बैठकले विद्यालयमा सञ्चालन भएका क्वाराइन्टाइन र आइसोलेसनहरुको सकेसम्म छिटो विकल्प खोजी गरी विद्यालयहरुबाट हटाउने निर्णय गरेको छ । साथै, यस कार्यमा जिल्ला संकट व्यवस्थान केन्द्रलाई वैकल्पिक स्थानको खोजी र व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै, क्वाराइन्टाइन र आइसोलेशनहरु विस्थापन भएका विद्यालयहरुलाई स्थानीय तह र विव्यसको सक्रियतामा निर्मलीकरण (निसंक्रमण) गर्ने पनि बैठकले निर्णय गरेको जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठकले संघीय सरकारको निर्णय र निर्देशनलाई अवलम्वन गर्दै सामुदायिक र सस्थागत दुबै किसिमका विद्यालयहरु नियमित सञ्चालन गर्नको लागि वातावरण सिर्जना गर्दै जानको लागि आगामी जिल्ला सभामा समेत बृहत छलफलका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ललेले जस्तोसुकै परिस्थितिमा पनि बालबालिकाको सिकइलाई निरन्तरता दिन स्थानीय तहहरुमा यस विषयमा छलफल हुनुपर्ने र सरोकारवालाहरुको सहभागितमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन सक्रिय भएर लाग्नु पर्ने विचार व्यक्त गरेका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले संघिय सरकारको नीति, निर्देशन र कार्यक्रमलाई सबै स्थानीय तह र शिक्षक कर्मचारीले कार्यान्वयनमा लाग्नु पर्ने बताए ।

बालबालिकालाई विद्यालयमा जमघट गराउँदा भिन्न समुदायका बालबालिकालाई बसमार्फत एकै स्थानमा जम्मा गराउदा जोखिम हुन सक्ने भएकोले जोखिम नहुने गरी बालबालिका रहेकै स्थानमा सिकाइ निरन्तरता दिने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड थियो ।

समुदायमा सिकाइलाई निरन्तरता दिन, स्थानीयतह र अभिभावकसँग सहकार्य गर्न शिक्षक र कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संस्थागत विद्यालयका सञ्चालक, स्थागत विद्यालय सम्वद्ध दलका कार्यकर्ता समेतबाट विद्यार्थी भर्ना गर्न र विद्यालय सञ्चालन गर्न दवाव समेत आएको अवस्थामा जिल्लामा एक रुपता हुनुपर्ने बताए ।

बालबालिकाको स्वास्थ्यमा जोखिम नहुने गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिँदै विद्यालय सुचारु गर्नुपर्ने  उनको भनाइ थियो ।

त्यस्तै भानु नगरप्रमुख, शुक्लागण्डकी नगरप्रमुख, रिसिङ्का अध्यक्ष, म्याग्दे अध्यक्षहरुले पनि हाल परेका समस्या राख्दै समस्या समाधान गर्न सबै मिलेर विद्यालय सुचारु गर्ने वातावरण निर्माणमा जुट्नुपर्ने धारणा राखेका थिए ।

शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले वैकल्पिक तरिकाले सिकाइलाई निरन्तरता दिन गर्न सकिने कार्यहरु प्रस्तुत गरेका थिए ।

साथै उनले समाजमा कोभिड–१९ जोखिक कम गर्न, सम्भावित विपतलाई न्यूनिकरण गर्न विद्यालय र शिक्षक सचेत हुनु पर्ने समाजलाई सचेत पार्न विद्यालय र शिक्षकहरु तयार हुनुपर्ने, बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षकहरु सक्रिय भएर लाग्नु पर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्