पोखरा । बेलायत बस्दै आएका पोखरा रामबजारका प्रेमबहादुर बिक र कमला बिकले छोरा दिपकको पाँचौ वार्षिक पुण्यतिथि पारेर शनिबार पोखरा–१५ फलेपाटनसिथ्त सिद्ध माविमा अक्षय कोष स्थापना गरेका छन् ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्‍याउने उद्देश्यसाथ रामबजार घर भएका बिक दम्पतीले १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरिदिएका हुन् । बिक परिवारबाट स्वर्गीय दिपकका हजुरबुवा जंगवीर विश्वकर्माले नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीलाई हस्तान्तरण गर्दै कोष सञ्‍चालनमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त अवसरमा दिपकका काका शिवलाल विश्वकर्माले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ।’ प्रेमबहादुर बिक दम्पती भने कार्यक्रममा सहभागी थिएनन् ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताए । उनी विद्यालयले स्थापना गरेको अक्षय कोषका संरक्षक हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भण्डारीले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्