रोल्पाको विद्यालयमा टर्की पालन

Avatar photo

Byएजुकेशन पाटी

२०७७ जेष्ठ २७, मंगलवार

रोल्पाको एक माध्यमिक विद्यालयले टर्कीपालन गरेको छ । प्राविधिक शिक्षालाई बढी भन्दा बढी प्रयोगात्मक वनाउन तथा विद्यार्थीलाई व्यवसाय उन्मुख गराउदै अर्गानिक उत्पादनमा जोड दिन विद्यालयले यस्तो कार्यको थालनी गरेको हो ।

‘पशु विज्ञान विषयमा डिप्लोमा दोश्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुले ७९ वटा टर्की पालन गरेका छन्’, विद्यालयका प्राचार्य गोपाल केसीले भने– ‘२१ दिनको चल्ला प्रतिवटा ९५० रुपैयाका दरले खरिद गरेर पालन सुरु गरिएको हो ।’

चिसो मौसममा साना चल्ला हुर्काउन निकै हम्मे हम्मे भयो गर्मी चढेसँग हुर्काउन बढाउन केही सहजता भएको प्राचार्य केसीले बताए । विद्यालयको छात्राबासमा बसेका विद्यार्थीहरुले उक्त टर्किको रेखदेख गरेका छन् । विद्यार्थीको लामो समय छुट्टी हुँदा भने विद्यालयका पालेहरुले रेखदेख गर्दै आएका छन् ।

‘टर्की जातीको यो चरा राम्रो संग पालन पोषण गर्न सके १८÷२० महिनामा १७/१८ किलो ग्राम सम्म तौल हुन्छ’, केसीले भने – ‘श्रावण महिनामा २१ दिनको चल्ला लिएर पाल्न सुरु गरिएकोमा अहिले तौल ८ किलो पुगिसकेको छ ।’

यसलाई औषत ७० प्रतिशत घाँस र ३० प्रतिशत दाना खुवाउदै आएको केसीले जानकारी दिए । टर्की नेपालमा नयाँ प्रजाती भएकाले पाठ्यक्रममा समावेश छैन् । यसले दिने प्रतिफलका आधारमा आगामी दिनमा पाठ्यक्रममा समावेश गराउन पनि परीक्षण अनिवार्य भएका प्राचार्य केसीको भनाइ छ ।

जण्डिस, प्रेसर लगायतका विरामीले खान मिल्ने भएकाले यसको माग विद्यालयको सेवा क्षेत्र भित्र धेरै रहे पनि आफुहरु तत्काल विक्रीको सोचाईमा नरहेको प्राचार्यको केसीको भनाइ छ । यसको प्रचलित वजार मुल्य प्रतिकिलो १ हजार रहेको बताइन्छ ।

२०७६ चैत्र २९ गते १५:२९मा प्रकाशित

 

प्रतिकृया दिनुहोस्