सिमकोट । कोरोना संक्रमणको त्रास कम भएको भन्दै केही समय अगाडि सञ्चालनमा आएका हुम्लाका विद्यालयमा पठनपाठन पून बन्द गरिएको छ । सरकारले कोरोना संक्रमणको त्रास बढेको भन्दै पठन पाठन कार्य बन्द गर्ने निर्णय गरेसँगै हुम्लाको शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायको बैठकले पढाइ सुरु भएका विद्यालयमा बन्द गर्ने निर्णय गरेका हुन् ।

बालमन्दिर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले सिमकोट गाउँपालिकाको निर्देशनमा एक हप्ता अगाडि सञ्चालनमा आएको विद्यालय पून बन्द गरिएको बताए । देशभर कोरोना त्रास बढ्न थालेपछि विद्यालय बन्द गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो । उनले बिहानी र दिउँसो गरि दुई सिफ्टमा पठन पाठन कार्य तिब्र रुपमा चलेका बेला कोरोना संक्रमण जिल्लामा आउन सक्ने सम्भावना देखिएपछि विद्यालय बन्द गरिएको बताए ।

सिमकोट गाउँपालिकाका सबै विद्यालय साउन २२ गतेदेखि पठन पाठन सुरु भएको थियो । सिमकोट गाउँपालिकाले एक सुचना प्रकाशन गरि २३ वटा सरकारी र पाँच वटा निजी विद्यालयहरु अर्को सुचना जारी नभएसम्मका लागि बन्द गर्ने जनाएको छ । त्यसैगरि ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले पनि विद्यालयमा कोरोना संक्रमण विरुद्धका सुरक्षा अपनाउन कठिन भएको र सामाजिक दूरी पनि कायम गर्न नसकिने अवस्था आएपछि गाउँपालिकाका १८ वटै विद्यालयमा शुक्रबारबाट पून बन्द गरिएको बताए ।

ताँजाकोट गाउँपालिकामा साउन १५ गतेबाट पठन पाठन सुरु भएको थियो । यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले पनि आफ्नो गाउँपालिका भित्रका १६ वटै विद्यालयमा पठन पाठन बन्द भएको बताए । हुम्लामा सबै भन्दा पहिले साउन पाँच गतेबाट उक्त गाउँपालिकाले पठन पाठन सुरु गरेको थियो ।

सर्केगार्ड गाउँपालिकाले पनि सुचना प्रकाशन गरि विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बिष्णु बहादुर शाहीले देशभर कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सबै विद्यालयमा पठन पाठ अगाडि नबढाउने निर्णय गरेसंगै हुम्लामा पनि कोरोना संक्रमण आउने संभावनालाई मध्यनजर राख्दै विद्यालय बन्द गरेको बताए ।

प्रतिकृया दिनुहोस्