लमजुङका विद्यालय खुल्न थाले

Avatar photo

Byएजुकेशन पाटी

९ श्रावण २०७७, शुक्रबार

लमजुङ । लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सरकारले लकडाउनको अन्त्य गरेसँगै जिल्लाका विद्यालय खुल्न थालेको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणले चार महिनाको लामो लक डाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गरेको विद्यालयले जनाएको छ ।

बेंसीसहर नगरपालिका ३ बाहुनबेंसीको यशोब्रह्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार विद्यार्थीको पठनपाठनमा सहज बनाउन साउन ५ गतेबाट विद्यालय सञ्चालन गरिएको छ । लामो समय विद्यालय नखुल्दा विद्यार्थीमा परेको समस्यालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ विद्यालय खुलाइएको उहाँले बताउनुभयो । ‘लामो समय लकडाउन भयो । विद्यालय बन्द भयो । विद्यालय नखुल्दा विद्यार्थी घरमा बस्दाबस्दै आत्तिए । अभिभावकले पनि विद्यालय खुलाउन माग गरे’ उहाँले भन्नुभयो, ‘विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच सल्लाह ग¥यौं । कोरोना संक्रमणबाट बच्ने तौरतरिका अपनाउँदै उच्च सतकर्ताका साथ विद्यालय खुलायौं ।’

उहाँका अनुसार विद्यालयमा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ । साबुनपानीले हात धुने व्यवस्था गरिएको छ । कक्षाभित्र पस्दा स्यानीटाइजर प्रयोग गर्ने, एउटा बेन्चमा २ जनामात्र राखेर पढाइने गरिएको छ । शौचालय जाँदा पनि एक÷एक जना पठाउने गरिएको उहाँले बताउनुभयो । यसअघि १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई अध्ययन गराइँदै आएकोमा अहिले विहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र पढाउने गरिएको छ । उनीहरुलाई अहिले तत्काल विद्यालयको तालिका अनुसार ५ वटा विषय पढाउने गरिएको र अर्को हप्ता बाँकी विषय पढाइने छ । २ सय ४७ जना विद्यार्थी रहेको विद्यालयमा ५० प्रतिशत विद्यार्थी मात्र आएका छन् । २० जना नयाँ भर्ना भएका छन् ।

विद्यालयकी शिक्षिका सिर्जना बरालका अनुसार विद्यार्थीलाई सहज रुपमा पठनपाठन गराइएको छ । १ देखि १० सम्मकै विद्यार्थी विद्यालय आएर अध्ययन गर्ने गरेको र केही आउने क्रममा रहेको बताउनुभयो । थोरे विद्यार्थी रहेको कक्षामा समस्या नभएको र धेरै विद्यार्थी हुने कक्षामा थोरै सङ्ख्यामा विद्यार्थी राखेर पढाइने गरिएको छ ।

बेंसीशहर नगरपालिका शिक्षा समितिले विद्यार्थीको पढाईलाई सहज बनाउन टोलटोलमा वा विद्यालयमा शिकाई सहजीकरण गर्न निर्देशन दिएपछि टोलटोलमा भन्दा विद्यालयममै सहज हुने भएकाले विद्यालय सञ्चालन गरिएको जनाएको छ । विद्यालय बन्द हुँदा बालबच्चालाई सम्हाल्न समस्या भएका अभिाभवक पनि विद्यालय खुलेपछि खुसी भएका छन् ।

बेंसीशहर नगरपालिका ७ चण्डीडाँडाको जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिलाशर्मा धितालका अनुसार विद्यालय पूर्ण रुपमा सञ्चालन नगरिए पनि शिक्षक आउने गरेका छन् । विद्यार्थीलाई बोलाएर गृहकार्य दिने र घर पठाउने गरिएको छ । दैनिक रुपमा शिक्षक विद्यालयमा उपस्थित हुने भएकाले विद्यार्थीको गृहकार्य हेर्ने गरिन्छ । पहिलो दिन बिहीबार ३० प्रतिशत विद्यार्थी मात्र विद्यालयमा उपस्थित भएको र उनीहरुलाई गृहकार्य दिइएको बताउनुभयो । विद्यालय नै सञ्चालन गर्दा धेरै भिडभाड हुने भएकाले रोल नम्बर अनुसार जोरविजोर प्रणाली लागु गरी विद्यालयमा अध्ययन थाल्ने योजना रहेको उहाँले बताउनुभयो ।

बेंसीशहर नगरपालिका ११ चिति तिलाहारका जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार घिमिरेका अनुसार साउन ५ गतेबाट विद्यालयमा शिक्षक कर्मचारी उपस्थित भएको छ । पठनपाठन भने भएको छैन । विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालय खुलाउने विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।

बेंसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख किसानराज चिलुवालका अनुसार लकडाउनका कारण प्रभावित भएको शैक्षिक क्षेत्रलाई सहज बनाउन शिक्षण सिकाई सहजीकरण गर्न विद्यालयलाई अनुरोध गरिएको छ । नगरपालिका भित्रका सबै विद्यालयका शिक्षकलाई साउन ५ गते विद्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गर्दै सिकाई सहजीकरण गराउन अनुरोध गरिएको उहाँले बताउनुभयो । विद्यालयले आफ्नो सहजता अनुसार वैकल्पिक तथा उपयुक्त विधिबाट शिक्षण सिकाई सहजीकरण गर्न सक्ने उहाँले बताउनुभयो ।

बेलिना थापाले गोरखापत्रमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्