विराटनगर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बिहीबार प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशभित्रका सबै जिल्लाहरूलाई यसअघि नै साक्षर घोषणा गरिए पनि समग्र प्रदेशलाई भने बिहीबार प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७४ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको दाबी गरेको छ । तथ्यांकअनुसार प्रदेश १ को जिल्लागत अवस्थामा सुगम जिल्लामै तुलनात्मक साक्षरता दर कम देखिएको छ । पहाडी जिल्ला ओखलढुंगामा प्रदेशकै सबैभन्दा धेरै ९९.५ प्रतिसत साक्षर रहेको छ । भने प्रदेशको कम साक्षरता दर भएको जिल्ला उदयपुरमा ९५.३२ प्रतिशत साक्षरता छ ।

 सरकारले २०६५ सालमा पहिलो पटक राष्ट्रिय साक्षरता अभियानमार्फत १५ देखि ६० बर्ष उमेरका निरक्षरलाई साक्षर बनाउने भन्दै अनौपचारिक, वैकल्पिक तथा विशेष शिक्षा कार्यक्रम लागू गरेको थियो । जस अन्तरगत मुलुकभर प्रौढ कक्षाहरू संचालन भएका थिए । अभियान सुरु भएको १४ वर्षमा प्रदेश १ का १४ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

त्यस्तै २०६९ मा दोस्रो चरणको अभियान चलाउँदा हाल प्रदेश १ का सवै जिल्लाको औसत साक्षरता दर ९६ दशमलव ७४ पुगेपछि प्रदेशलाई नै साक्षर घोषणा गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको प्रथम आवधिक योजनामा उल्लेखित सोच ‘शिक्षित नागरिक’ कार्यन्वयन गर्न प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने उदेश्य राखिएको थियो ।

सोही उदेश्य अनुसार ९६ दशमलव ७४ प्रतिशत जनसंख्या साक्षर भएको भन्दै साक्षर प्रदेश घोषणा गरिएको जनाइएको छ । घोषणासभा अघि विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय अगाडिबाट प्रभातफेरी गरिएको हो । जैन भवनमा आयोजित भव्य कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ लाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन् ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति अनुसार गाउँ/नगर साक्षर हुँदै २०७१ असारदेखि साक्षर जिल्ला घोषणाको काम अघि बढाइएको थियो । सोही नीति अनुसार ९५ प्रतिशत बढी नागरिकलाई साक्षर भएको पहिलो पटक २०७२ साउन ९ मा पाँचथरलाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

सबैभन्दा अन्तिममा २०७९ असार २६ गते सोलुखुम्बु साक्षर जिल्ला घोषणा भएको सामाजिक विकास मन्त्रालयका प्रशासन तथा शैक्षिक योजना महाशाखाका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । तथ्यांकअनुसार प्रदेश १ को पहिलो साक्षर जिल्ला पाँचथरमा साक्षरता प्रतिशत ९७ रहेको छ । ओखलढुंगा सबैभन्दा बढी ९९.०५ प्रतिशत नागरिक साक्षर भएको जिल्ला हो ।

झापामा ९८.३३, धनुकटामा ९७ दशमलव २५, इलाममा ९७.६२, खोटाङमा ९६.५६, सुनसरीमा ९५.५, तेह्रथुममा ९५.९८ प्रतिशत साक्षरता रहेको जनाइएको छ । त्यसैगरी भोजपुरमा ९६.४, उदयपुरमा ९५.३२, मोरङमा ९६.५, संखुवासभामा ९५.६३, ताप्लेजुङमा ९६.४५ र सोलुखुम्बुमा ९६.७४ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।

नेपालमा ६० प्रतिशत साक्षरता विद्यालय शिक्षाबाट हुने जनाइएको छ । प्रदेश १ मा ९६ दशमलव ७४ प्रतिशत जनसंख्या साक्षर भए पनि बाँकी रहेको ३ दशमलव २६ प्रतिशत जनसंख्या भने निरक्षर रहेका छन् ।जसका पूर्ण साक्षर प्रदेश घोषणामा चुनौति कायमै रहेको हो । सन् २०३० सम्ममा मुलुक नै साक्षर घोषणा गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । सात प्रदेश मध्ये सवैभन्दा पहिले बाग्मती र दोस्रोमा गण्डकी प्रदेश भने साक्षर प्रदेश घोषणा भएका थिए ।

७७ जिल्लामध्ये मधेस प्रदेशका ८ जिल्ला हालसम्म कुनै पनि जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् । जसका कारण राष्ट्रिय लक्ष्यप्राप्तिका लागि सबैभन्दा ठूलो चुनौती रहेको सरकारको भनाइ छ ।

प्रतिकृया दिनुहोस्