काठमाडौँ । नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।

उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे । ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

मन्त्रालयले शिक्षक नेताहरुको सिंहदरबार प्रवेशका लागि २५ शिक्षक नेताको पास उपलब्ध गराएको थियो । तर, वार्ताका लागि गएका र मन्त्रालयले नाम पठाएका शिक्षकहरु फरक परेपछि प्रवेशमा बिलम्व भएको थियो ।वार्ताकाे लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको भन्दै महासंघले बैठक बहिस्कार गरेर गेटबाटै फर्केका हुन् ।

सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए । यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेको थियो । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले तीन साताभन्दा बढी समयदेखि राजधानीमा आन्दोलन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्