काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सुचना जारी गर्दै कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरुलाई आग्रह गरेका हुन् । शिक्षकहरुको आफ्ना पेसागत हकहित र सुरक्षा साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपील गरेको हो ।
‘आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा झैँ सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, बोर्डले विद्यार्थीहरुलाई पनि परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गर्दै यस सम्बन्धमा अभिभावक तथा अन्य सम्बन्धित सरोकारवाला पक्षबाट समेत समन्वय र सहयोगको अपेक्षा गरेको जनाएको छ ।
शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा आफ्नो पेसागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित आन्दोलनमा रहेको बताउँदै जारी सुचनामा भनिएको छ,‘कक्षा १० को परीक्षा सकेर बसेका विद्यार्थी आफ्नो सुनिश्चित भविष्यका लागि नतिजा पर्खिरहेको अवस्था छ । अभिभावकहरू समेत आफ्ना सन्तानको गुणस्तरीय शिक्षा र उज्वल भविष्यको योजना बनाइरहनुभएको छ । कक्षा १२ का विद्यार्थीहरु विद्यालय तहको अन्त्यमा राष्ट्रिय रुपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकृताका साथ पर्खाइमा रहेका छन् । विद्यार्थीले विद्यालय जीवनभरी गरेको उपलब्धिको प्रमाणपत्र प्राप्त गर्नका लागि पर्खिरहेको कक्षा १२ को परीक्षा आफ्ना बालबालिकालाई अभिभावकले गरेको लगानी, गुरु वर्गले आफ्ना विद्यार्थीलाई गरेको मिहिनेत तथा सरकारले गरेको लगानी समेतको सूचक भएको हुनाले यो तहको परीक्षा अत्यन्तै संवेदनशिल र मानवीय पक्ष हो भन्ने विषयमा हामी सबै स्पष्ट नै हुनुपर्दछ ।’दुई हप्तादेखि शिक्षकहरु शिक्षा विधेयक पारितको माग गर्दै आन्दोलनरत छन् ।