पोखरा । गण्डकी प्रदेश सरकारमातहत रहेको गण्डकी विश्वविद्यालयले पहिलो उपकुलपति पाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. नवराज देवकोटालाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन् । कुलपति नियुक्त भएको सात महिनापछि गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो ।

सामाजिक विकास मन्त्री संयोजक, कुलपति प्रा.डा. गणेशमान गुरुङ र मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समितिले देवकोटालाई सिफारिस गरेको थियो । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राक स्थायी घर भएका देवकोटा २०४३ सालबाट विश्वविद्यालय शिक्षण पेसामा प्रवेश गरेका थिए ।

देवकोटाले थाइल्यान्डको चियाङ माई विश्वविद्यालयबाट कृषि विज्ञानमा एमएस्सी र न्युजिल्यान्डको मासे विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उपकुलपतिमा नियुक्त भएसँगै देवकोटाले गण्डकी विश्वविद्यालयबाट ८० प्रतिशत प्राविधिक र २० प्रतिशत गैरप्राविधिक जनशक्ति उत्पादन गर्ने बताए ।

त्यस्तै कुलपति प्रा.डा. गुरुङले उपकुलपति नियुक्ति भएसँगै अब रजिस्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढाइने बताए । पदाधिकारी पूर्णरुपमा भएपछि विश्वविद्यालयको कामले गति लिने उनले बताए ।

उपकुलपतिलाई सपथ खुवाउँदै मुख्यमन्त्री गुरुङले सिफारिस समितिले सिफारिस गरेको आधारमा नियुक्ति गरिएको र आफूले छुट्टै भेटघाट नगरेको बताए । उनले अनावश्यक रुपमा नेता भेट्ने र राजनीति गर्ने काम नगर्न पनि उपकुलपतिलाई सुझाएका छन् ।

‘अहिलेभन्दा बढी परिणाम दिने गरी काम गर्नुस्,’ उनले भने, ‘यो तपाईंहरुको जागिर हो राजनीति गर्ने थलो होइन । प्रशासनिक, नीतिगत र बजेट सम्बन्धमा सरकारको सहयोग रहनेछ । नत्र विश्वविद्यालय स्वायत्त हो, स्वतन्त्र छ ।’

प्रतीक्षा काफ्लेले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्