काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कको आयोजनामा तीनदिने राष्ट्रिय विज्ञान प्रदर्शनी एवं साहित्य महोत्सव हुने भएको छ । काठमाडौँ सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीको प्राङ्गणमा फागुन १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा देशभरका ५० बढी विद्यालयहरूको सहभागिता रहने छ ।

रिलायन्स एजुकेशन नेटवकले बुधबार एक पत्रकार सम्मेलन गरी उक्त विज्ञान प्रदर्शनी एवं साहित्य महोत्सवबारे जानकारी गराएको हो । नेटवर्कले वर्षेनी आयोजना गर्दै आएको यस प्रदर्शनीको यो चौथो संस्करण हो ।

युगसापेक्ष प्रविधिमैत्री र व्यवहारिक क्रियाकलापमा सिकाइ प्रणालीलाई जोड दिँदै वैज्ञानिक खोज, आविष्कार–अन्वेषण, पुस्तक प्रदर्शनी, लेखकसँग साक्षत्कार र प्रयोगमा आधारित यस विज्ञान प्रदर्शनीबाट करिव ५ हजार विद्यार्थी लाभान्वित हुने नेटवर्कले जनाएको छ ।

यस प्रदर्शनीमा नेटवर्कअन्तर्गतका ३ स्कुल र ४ कलेजका विद्यार्थीले बनाएका विज्ञान र सूचनाप्रविधिसँग सम्बन्धित ४९ वटा प्रदर्शनी तथा स्टलहरुका साथै अन्य थप विद्यालयस्तरीय विज्ञान प्रदर्शनी रहने छन् । त्यसका अलावा कार्यक्रममा आर्ट पेन्टिङ, फेस पेन्टिङ, होटल म्यानेजमेन्टका स्टल, फुड स्टल, बुक स्टलहरूसमेत रहने नेटवर्कका कार्यकारी अध्यक्ष  रविन्द्रजंग थापाले जानकारी दिए ।कार्यक्रमका प्रमुख आकर्षणमा कस्तूरी मृगको संरक्षण, तितलीहरूको संसार (फोटो ग्यालरी), स्मार्ट सिटीको थ्रिडी मोडल, ज्वालामुखी विस्फोटको प्रस्तुति, स्मार्ट सिँचाइ प्रणाली लगायतका विषय समावेश छन्।

कार्यक्रममा उपन्यासकार अमर न्यौपाने तथा बालसाहित्यकार उद्धव प्याकुरेलसँग साक्षत्कार कार्यक्रमसमेत हुने छ । यसैगरी समापन समारोहमा उत्कृष्ट विद्यालयलाई नगद, सिल्ड र प्रमाणपत्रसहित पुरस्कार वितरण तथा सांगीतिक कार्यक्रमसमेत हुने थापाले जानकारी दिए ।

नेटवर्कले यसअघि यस्ता प्रदर्शनी विद्यालयस्तरीय रूपमा नै आयोजना गर्दै आएको भएपनि पछिल्लो समय यसको दायरा बढाउँदै लगेको छ । यस अघि जिल्लास्तरीय र प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिसकेको नेटवर्कले यसपटक राष्ट्रियरूपमै विज्ञान प्रदर्शनी गर्ने आँट गरेको नेटवर्कका अध्यक्ष थापाले बताए ।

यस्ता विज्ञान र अविष्कारका प्रतिष्पर्धा तथा प्रदर्शनी राष्ट्रले नै आयोजना गर्नुपर्नेमा जोड दिँदै थापाले आफूहरूले सकेको प्रयास गरेको बताए । काठमाडौँ बाहिरबाट आउने शिक्षक र विद्यार्थीलाई आफूहरुले नै खाने बस्ने व्यवस्था गरेको उनको भनाइ छ । विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य  रहेको थापाको भनाइ थियो ।

विज्ञान प्रदर्शनीलाई बिहिवार प्रमुख अतिथिका रूपमा नास्टका सदस्यसचिव डा. रविन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्