काठमाडौं । चाबहिल स्वतरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । संस्करसहितको शिक्षामा जोड दिँदै आएको विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरेको हो ।

आइतबार चावहिलस्थित स्मार्ट प्यालेसमा एक भव्य समारोहकाबीच सम्पन्न अभिमुखीकरण कार्यक्रममा विद्यालयले नयाँ विद्यार्थीहरुको स्वागत मात्रै गरेन, संस्कारसहितको शिक्षा र जीवनोपयोगी सिकाइबारे अभिमुखीकरणसमेत गर्यो ।नेपाल वेद विद्याश्रमका बटुकहरूबाट स्वस्ति वाचनसँगै सुरु भएको अभिमुखी कार्यक्रममा लगत्तै दुई मिनेटको ध्यान गराइएको थियो ।

त्यसपछि आफ्ना विद्यार्थीलाई प्राज्ञिक, सामाजिक र संवेगात्मक रूपमा उत्कृष्ट बनाउन विद्यालयले गरेका प्रयासहरुबारे जानकारी दिइयो ।सँगसँगै विद्यार्थीले पालना गर्नुपर्ने नियम, कलेजका विभिन्न गतिविधि, शैक्षिक योजना र सफलताबारे पनि जानकारी दिइयो । हुन पनि सैद्धान्तिक ज्ञानको रटानबाट पृथक रहँदै प्रयोगात्मक सिकाइमा जोड दिँदै आएको रिलायन्स विद्यार्थीको सर्वपक्षीय विकासका लागि प्रतिवद्ध रहँदै आएको छ ।

यहाँ पढेका विद्यार्थीहरु पढाइ पूरा गरेर बाहिरिँदा उनीहरुको हातमा शिक्षाको सर्टिफिकेट मात्रै हुँदैन । संस्कार, संस्कृति प्रतिको लगाव, आफ्नो निखारिएको प्रतिभा र जीवनोपयोगी सिप समेत हुने गर्दछ ।त्यसैले त हरेक खेलकुद, अतिरिक्त क्रियाकलापहरुका प्रतियोगितामा रिलायन्सका विद्यार्थीहरुले कब्जा जमाउँदै आएका छन् ।

त्यसैले त अभिमुखीकरण कार्यक्रमको सुरुवात मै रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले भने, ‘बाटामा टाढैबाट रिलायन्स विद्यार्थीहरु चिनिन्छन्, चिनिने हुनुपर्छ । रिलायन्सले विद्यार्थीहरुलाई सिकाइको सर्टिफिकेट मात्रै दिँदैन संस्कार, सिप, अनुशासन र उज्वल भविष्यको मार्गचित्र र आधार दिन्छ ।’रिलायन्सका विद्यार्थी भएपछि मिहिनती, लगनशील, अनुशासनको पर्याय बन्नुपर्नेमा उनको जोड थियो ।

रिलायन्सका सबै विद्यार्थी विश्वस्तरमा प्रतिस्पर्धा गर्न लायक नागरिक बन्नुपर्ने र त्यसक्रममा विद्यार्थीले आमा, बुबा र गुरुलाई आदर सत्कार र धन्यवाद भन्न सक्नुपर्ने उनको भनाइ थियो। थापाले विद्यार्थीहरू संसारका जुनसुकै देश पुगे पनि त्यहाँ ज्ञान, सीप र दक्षता हासिल गरेर नेपाल फर्किनुपर्ने धारणा राखे। उनले जीवनमा सफल हुने विभिन्न सिद्धान्तहरू बारे चर्चा गर्दै सबै विद्यार्थीलाई आगामी शैक्षिक यात्रा सफलताको शुभकामना दिए ।

शिक्षकहरुले मात्रै होइन कक्षा कक्षा १२ मा अध्धयनरत विद्यार्थीहरुलेसमेत नव आगन्तुक विदार्थीहरुको स्वाग गरे । कलेजकी टपरसमेत रहेकी कक्षा १२ की छात्रा संगम कार्कीले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै सही कलेज छनोट गरेकामा विद्यार्थीहरुलाई धन्यवाद दिइन् । ‘यहाँ पढाइ तिखारिन्छ, प्रतिभा निखारिन्छ, सिप सिकाइन्छ, दक्ष बनाउँदै उज्जवल भविष्यको बाटो देखाइन्छ’, काकीले भनिन् । ‘रिलायन्सको नमस्ते र मेडिटेसन कल्चरले यहाँको शैक्षिक वातावरणमा सुनमा सुगन्ध थपिरहेको छ,’ उनले भनिन्, ‘यस्ता अरु पनि संस्कृति छन् जसले विद्यार्थीको वैयक्तिक विकासमा प्रभाव पारिरहेको हुन्छ ।’

कलेजका निर्देशक एवम् वरिष्ठ चार्टर्ड एकाण्टेन्ट राजुकुमार शिवाकोटीले विद्यार्थीलाई पढाईमा हेलचेक्राइँ नगर्न सुझाव दिए । ‘तपाईंहरु गतिलो शैक्षिक संस्थामा आइपुग्नु भएको छ अब तपाईंहरुले राम्रो पढ्नुपर्छ,’ विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै शिवाकोटी भन्दै थिए, ‘पढाइ भन्दा ठूलो कुरा अरु केही पनि छैन त्यसैले पढ्ने कुरामा हेलचेक्राइँ नगर्नुहोला ।’

भर्खरै कक्षा ११ मा भर्ना भएकी रेबिका श्रेष्ठले विद्यालयको बारेमा आफुले सुनेको भन्दा विद्यालयमा आइसकेपछि बढी कुरा पाएको बताइन् । एसईईमा ४ जीपिए प्राप्त गरेकी उनले विद्यालयले आफूलाई मुलुकको योग्य र दक्ष नागरिक बनाउने कुरामा विश्वस्त रहेको बताइन् ।

कलेजका बोर्ड सदस्य तथा चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले ६५ भन्दा बढी जिल्ला र ३०० भन्दा बढी स्कुलहरू बाट कक्षा ११ भर्ना हुन आएका सबै विद्यार्थीलाई रिलायन्समा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । भविष्य बनाउने तहमा आइपुगेका विद्यार्थीले एसईईमा आएको नतिजा पछि घट्ने परिपाटीको अन्त्य गर्न सक्नुपर्नेमा उनको जोड थियो । आजको २१ औँ शताब्दीको प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न सक्ने जनशक्ति बन्ने गरी मेहनत गर्न सुझाएका उनले रिलायन्सको नतिजा आजसम्म सधैँ उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कला प्रस्तुत गरेका थिए ।कार्यक्रममा रिलायन्स एजेकेशन नेटवर्कका विभिन्न स्कुलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, बोर्ड सदस्य, शिक्षक शिक्षिका एवम् विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्